बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बलात्कारीलार्इ कारबाही माग गर्दा प्रहरीकाे गाेली

kanchanpur_Nirmala_pant

महेन्द्रनगर, ९ भदौ ।  निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले शुक्रबार पनि गोली चलाएको छ। प्रहरीको गोली लागी एक किशोरको मृत्यु भएको छ। घटनामा चारजना घाइते भएका छन्।

गोली लागी मृत्यु हुनेमा भीमदत्त नगरपालिकाका–१८ का १७ वर्षीय सन्नी खुना रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। कवीन्द्रबहादुर सिंह, उमेश देउवा, दामोदर खत्री र सुरेश चटौत घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये तीनजनाको महाकाली अञ्चल अस्पातलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते उमेश देउवालाई धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ। यसअघि प्रहरीले बिहीबार गोली चलाउँदा ६ जना प्रदर्शनकारी घाइते भएका थिए।

बिहीबार जारी कफ्र्यु शुक्रबार खुलेपछि दिउँसोसम्म महेन्द्रनगर शान्त थियो। साढे ४ बजेतिर स्थानीय स्वतःस्फूर्त रुपमा हत्यारालाई कारबाही माग्दै सडकमा ओर्लिएका थिए। स्थानीयको जुलुस जिल्ला प्रशासन, नगरपालिका, जिल्ला अदालतलगायत स्थानमा पुगेपछि प्रहरी–प्रदर्शनकारीबीच भिडन्त भएको थियो।

प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले पहिले अश्रुग्यास र पछि गोली प्रहार गरेको थियो। प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न थालेपछि अश्रुग्यास प्रहार र हवाईफायर गरेको कडायतले बताए । प्रदर्शनकारी र प्रहरीबीच साँझ ८ बजेसम्म झडप जारी थियो।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार पनि साँझ ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि महेन्द्रनगर र आसपासका क्षेत्रमा कफ्र्यु जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले सूचना जारी गरेर कफ्र्युको समयमा घरबाहिर ननिस्कन महेन्द्रनगरवासीलाई आग्रह गरेका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);