गाउँ पस्नै सकेन स्वास्थ्य बिमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गाउँ पस्नै सकेन स्वास्थ्य बिमा

Bima Office

म्याग्दी, ५ भदौ । नेपालको संविधान–२०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही हकलाई प्रत्याभूत गराउने हेतुले सरकारले २०७३ सालदेखि शुरु गरेको स्वास्थ्य बिमा म्याग्दी जिल्लाको ग्रामीण भेकतर्फ भने पुग्नै सकेको छैन ।

२०७३ पुस महिनादेखि म्याग्दी जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू गरिए पनि उक्त कार्यक्रमबाट स्वास्थ्यको पहुँचमा पुग्न ग्रामीण भेकका स्थानीयबासिन्दाहरु अझै सकेका छैनन् । संविधानमा नेपाली नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने उल्लेख छ । सोही बुँदालाई आधार बनाउँदै निम्न आयस्तर भएका नागरिकदेखि सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउनुपर्छ ।

स्वास्थ्य बिमाभित्र आबद्ध गराएपछि उनीहरुलाई स्वास्थ्य सेवा दिने लक्ष्यसहित थालिएको स्वास्थ्य बिमा अहिले जिल्ला सदरमुकाम र नगरपालिकामा मात्रै सीमित हो कि जस्तो देखिएको छ । नेपालको जनगणना २०६८ अनुसार म्याग्दी जिल्लामा कुल २७ हजार ७ सय ६२ परिवार रहेको भए पनि हालसम्म १० प्रतिशत परिवारमा पनि बिमा पुग्न सकेको छैन । अहिलेसम्म म्याग्दी जिल्लामा दुई हजार छ सय ७८ परिवारको ११ हजार सातसय ३० जनाले स्वास्थ्य बिमा गरेका छन् ।

गएको आर्थिक वर्षमा नयाँ बिमा र पुरानाले नवीकरण गर्दा उक्त सङ्ख्या पुगेको हो । ६ हजार ३ सय ३३ जना महिला तथा ५ हजार ३ सय ९७ जना पुरुष म्याग्दीमा बीमित रहेका छन् । स्वास्थ्य बिमाको पहुँच सबैमा पु¥याउने लक्ष्य राज्यले लिए पनि ५२ प्रतिशत अर्थात् एक हजार तीनसय ९६ परिवार बेनी नगरपालिका भित्रका मात्रै रहेको स्वास्थ्य बिमा बोर्ड म्याग्दीले जनाएको छ ।

म्याग्दी जिल्लामा गत आर्थिक वर्ष भन्दा पहिलाका ६ हजार २ सय ९६ जनाले गत नवीकरण गरेका थिएभने पाँच हजार चारसय ३४ जना नयाँले गत आर्थिक वर्षमा बिमा गरेको स्वास्थ्य बिमा बोर्ड म्याग्दीका प्रमुख उपेन्द्र बरालले जानकारी दिए । स्वास्थ्य बिमा गर्नेको सङ्ख्या अनुसार सेवा लिनेमा अझै पनि कम रहेको बताएका छन् ।

हालसम्म म्याग्दी जिल्लामा ९ हजार ३ सय २३ पटक स्वास्थ्य बिमा योजनाको सदुपयोग गर्दै स्वास्थ्य परीक्षण गरिएको छ । हाल देशभरका ४० वटा जिल्लामा स्वास्थ्य बिमा योजनामा ९ लाख ७७ हजार १ सय ८५ जनाले स्वास्थ्य बिमा गरेका छन् । सबैभन्दा बढी चितवनमा १ लाख ३९ हजार छ सय ९७ जनाले स्वाथ्य बिमा गरेको तथ्याङ्क रहेको छ । स्वास्थ्य बिमा गराउनका लागि दर्ता सहयोगीहरुको व्यवस्था गरिएको छ । स्वास्थ्य बिमा गर्न ५ जनासम्मको परिवारले वार्षिक दुईहजार पाँचसय रुपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको छ ।

पाँच जनाभन्दा माथिको सङ्ख्या रहेको परिवारले भने प्रतिव्यक्ति थप ४२५ रुपैयाँका दरले स्वास्थ्य बिमा गर्न सक्छन् । बीमितहरुले बिमाको आधारमा नौसय प्रकारका औषधीहरु निःशुल्क रुपमा पाउने व्यवस्था रहेको बेनी अस्पतालका प्रमुख वरिष्ठ मेडिकल सुपरीटेन्डेन्ट डाक्टर रोशन न्यौपानेले जानकारी दिए । म्याग्दी जिल्लामा बेनी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ ।

यसैबीच स्वास्थ्य बिमा गरेका बीमितहरुले कार्यक्रम लागू भएका स्वास्थ्य संस्थामा उपचार गर्न जाँदा बिमा अनुसारको सेवासुविधा पाउन नसकेको गुनासो गर्दै आइरहेका छन् । बिमा गरिए अनुसारको सेवासुविधा र औषधी नपाउँदा निजी क्लिनीकमा जानुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);