छेत्रनाथ देवकोटा
बाँके, ४ भदौ । बाँकेको नेपालगन्जमा दुई वर्षअघि बनाउन सुरु गरिएको आधुनिक बसपार्क अलपत्र भएको छ । ठेक्का पाएको समय सीमा सकिएको एक वर्ष पूरा हुँदा समेत बसपार्क बनेको छैन ।
नेपालगन्जमा आधुनिक बसपार्क बनाउने जिम्मा पाएको युनाइटेड बुईल्डर्स एण्ड इन्जिनियरिङले समयमा काम नगर्दा अलपत्र भएको हो । २० करोड ८ लाखको उक्त आयोजनाको अहिलेसम्म ४० प्रतिशतमात्र काम पूरा भएको छ ।
आर्थिक बर्ष २०७३/०७४ को असारसम्म काम पूरा हुनुपर्ने थियो । तर समय सीमा भित्र पनि निर्माण नभएको भन्दै यातायात व्यवसायी र व्यापारीले असन्तुष्टि जनाएका छन् ।
समयसीमा सकिएको एक बर्षसम्म पनि काम पूरा नगर्ने ठेकेदारलाई उपमहानगरपालिकाले फेरि ६ महिना समय सीमा थपेको छ । ठेकेदार कम्पनीले भने बसपार्क निर्माणमा खराव मौसम, जनशक्ति अभावका कारण ढिलाइ भएको बताएको छ ।
बसपार्क नबन्दा यातायातका साधान पार्किङ गर्न समस्या भएको छ । जसका कारण उपमहानगरपालिका अस्तव्यस्त भएकाले छिटो बसपार्क बनाउन सरोकारवालाले माग गरेका छन् ।




