४८ वर्षदेखि नबनेको बसपार्क तीन वर्षमा बनाउने पोखराका मेयरको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

४८ वर्षदेखि नबनेको बसपार्क तीन वर्षमा बनाउने पोखराका मेयरको घोषणा

पोखरा।  पोखरामा बसपार्क निर्माण पाँच दशकदेखि चुनावी नारा मात्रै बनिरहेको छ । बसपार्क बनाउनका लागि जग्गा अधिग्रहण गरेको ४८ वर्ष पुगिसक्यो। २०३२ सालमा तत्कालीन अञ्चलाधीश तथा नगर योजनाका अध्यक्ष शंकरराज पाठक र योजनविद् पदमबहादुर क्षेत्रीले पृथ्वीचोकमा करिब दुई सय रोपनी जग्गा बसपार्कका लागि छुट्याएका हुन्। जग्गा अधिग्रहण भए पनि व्यवस्थित बसपार्क देख्ने पोखरेलीको लामो सपना अधुरै छ। हरेक चुनावमा यहाँका जनप्रतिनिधि उम्मेदवारको प्रमुख चुनावी एजेण्डा बन्छ, तर कार्यान्वयन हुँदैन। बसपार्कको जग्गा अधिग्रहण हुँदा ६ वर्ष उमेरका धनराज आचार्य अहिले पोखराको मेयर बनेका छन्। उनले आउँदो ३ वर्षमा बसपार्क निर्माण सक्ने घोषणा गरे। प्रदेश सरकारले बजेट छुट्याएको नाला निर्माणको शिलान्यासमा उपस्थित भएर उनले ३ वर्षमा व्यवस्थित बसपार्क निर्माण हुने भाषण गरे।

पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिबद्धता जनाए । उनले यसलाई सिटी बसपार्कको रूपमा निर्माण गरिने बताए । ठूलो बसपार्क भने पोखरा ३२ लामेआहालमा बनाइने आचार्यको भनाई छ । ‘अधिग्रहण गरेको बेलाजति ठूलो बसपार्क अव बन्दैन । यसलाई सिटी बसपार्कको रूपमा निर्माण गर्छौं । ठूलो बसपार्क लामेआहालमा बन्छ,’ उनले भने, ‘अहिलेको नयाँ बसपार्क समेत सिटी बसपार्कको रूपमा स्तरोन्नति गर्छौं । यो काम हाम्रो प्रमुख प्राथमिकतामा छन् ।’निर्माणाधीन बसपार्कमा सबैभन्दा ठूलो समस्या सुकुम्वासीको छ । त्यहाँ सुकुम्वासी भरिएका छन् । सुकुम्वासी समस्यालाई हल गरेरै महानगरले बसपार्क निर्माण गरिछाड्ने मेयर आचार्यको भनाइ छ । ‘केही जग्गाका समस्या छन् । अरू पनि त्यस्ता समस्या छन्,  उनले भने, ‘सबै समस्या समाधान गर्छौं । तीन वर्षमा बसपार्क बन्छ । कसैले अन्याय भोग्नु पनि पर्दैन।’ बसपार्क निर्माणका लागि संघ र प्रदेश सरकार समेत आफूसँगै रहेका उनको भनाई छ । बसपार्कमा नाला निर्माणको योजना बनाएर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले समेत बसपार्क बनाउन सकेजति प्रयास गर्ने बताएका छन् । ‘ठाउँ पोखरा भए पनि काम हाम्रो पनि हो।

बसपार्क निर्माणमा धेरै पटक कार्यक्रम पर्छ तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘अब काम हुन्छ । प्रदेश सरकारले चासो दिन्छ ।’ यो ठाउँमा कति परिवार सुकुम्वासी छ भन्ने कुनै रेकर्ड छैन । बसपार्क बनाउनका लागि १ सय रोपनी जग्गा पनि बाँकी नभएको नगर विकास समितिले जनाएको छ । समितिकै पदाधिकारीले बसपार्क निर्माणका लागि अधिग्रहण भएको जग्गा घडेरी बनाएर बेचेका थिए । पछि एयरपोर्ट स्तरोन्नति गर्दा त्यहाँ रहेका व्यवसायीलाई बसपार्कको जग्गामा राखियो।तत्कालीन समयमा ७४ परिवारलाई सहुलियत दरमा घडेरी दिइएको थियो । त्यसपछि पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिँदा अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गा डेढ सय रोपनीमा खुम्चिएको छ।

सेती नदी किनारमा धाँजा फाटेको भनिएको ६८ रोपनी जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएको छ । सबै गरेर ८० रोपनी हाराहारी मात्रै जग्गा बाँकी रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);