विवादका कारण रानीपोखरी पुन:निर्माणमा अन्योल | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

विवादका कारण रानीपोखरी पुन:निर्माणमा अन्योल

ranipokhari

फूलमाया आले
काठमाडौं, ३१ साउन । ऐतिहासिक रानीपोखरी कुन शैलीमा बनाउने तथा कसले कसरी बनाउने भन्ने विवादका कारण पुन:निर्माणले गति लिन सकेको छैन । लामो विवादपछि विज्ञ समुहले मल्लकालिन शैलीमा रानीपोखरी पुन:निर्माण गर्न सुझाव दिएका थिए ।

तर, फेरि गुम्बल शैलीमा रानीपोखरीको पुन:निर्माण गर्ने चर्चा सुरु भएपछि सम्पदा बचाउ अभियानले विज्ञ समुहको सुझाव अनुसार शिखर शैलीमै रानीपोखरीका पुन:निर्माण गर्न माग गर्दै पुरातत्व विभागलाई ज्ञापन पत्र बुझाएको छ ।

विक्रम संवत २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएको रानीपोखरी कुन शैलीमा कसरी बनाउने भन्ने विवाद नटुंगिदा पुन:निर्माणको काम रोकिएको छ । भूकम्प गएको केही महिना पछि नै राष्ट्रपतिद्वारा पुन:निर्माणको शुभारम्भ गरे पनि काम अघि बढ्न सकेको छैन ।

खासगरी भूकम्पले क्षति पुगेको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर कुन शैलीमा बनाउने भन्नेमा विवाद कायम छ । कोहीले शिखर शैली त कोहीले गुम्बज शैलीमा पुन:निर्माण गर्नुपर्ने बताइरहेका छन् ।

विवाद बढ्दै गएपछि सुझावका लागि गठित विज्ञ समुहले मल्लकालिन शिखर शैलीमा पुन:निर्माण गर्न सुझाव दिएको थियो । फेरि गुम्बज शैलीमा बनाउने चर्चा सुरु भए पछि सम्पदा बचाउ अभियानले राजा प्रताप मल्लको समयमा निर्माण हुँदा रानीपोखरी शिखर शैलीमा रहेकोले विज्ञ समुहको सुझाव अनुसार पुन:निर्माण गर्न पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएको छ ।

यसअघि पुन:निर्माण सुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध भएपछि निर्माण रोकिएको थियो । यसबीचमा बनाउने र भत्काउने गर्दा करोडौं रकम सकिएको छ । विवादै विवादले रानीपोखरीको पुन:निर्माण सुरु हुन नसकिरहेकै बेला पुन:निर्माणको जिम्मा सेनालाई दिने भनेर अर्को चर्चा बाहिर आयो ।

तर, पुरातत्व विभागले भने सेनालाई पुन:निर्माणकाे जिम्मा दिने सम्झौता नभएको दाबी गरेको छ । साथै सम्पदा निर्माणसँग सम्बन्धित नीति, नियम र व्यवस्था अनुरुपनै रानीपोखरीको पुन:निर्माण गर्ने विभागको भनाइ छ ।