रानीपोखरी पुरानै शैलीमा निर्माण गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रानीपोखरी पुरानै शैलीमा निर्माण गरिने

काठमाडौं, १३ पुस । काठमाडौं महानगरपालिकाले रानी पोखरीको पुनर्निर्माण प्रताप मल्लकालीन स्वरुप, शैलीमा पुरानै निर्माण सामग्री प्रयोग गरेर बनाउने निर्णय गरेको छ ।

कंक्रिटमार्फत पुनर्निर्माण गर्ने विषयमा विवाद भएपछि महानगरपालिकाले विहिबार सरोकारवालाहरुसँग छलफल गरी पूरानै स्वरुप, शैली र पुरानै निर्माण सामग्री प्रयोग गरेर बनाउने निर्णय गरेको हो । यो निर्णयसँगै हाललाई भने रानीपोखरीको पुनर्निर्माणको काम स्थगित भएको छ ।

प्रताप मल्लकालीन स्वरुप, शैली र सामग्री प्रयोग गरेर रानीपोखरीको पुनर्निर्माणको काम सुरु गर्ने निर्णय लिइएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले जानकारी दिए । समितिले यसबारे अध्ययन गरेर १५ दिन भित्र सुझाव दिन पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको विशेषज्ञ समिति समेत गठन गरेको छ ।

समितिको सल्लाहकारमा रक्षामन्त्री भिमसेनदास प्रधान, पूर्व मेयर केशव स्थापित र रञ्जु दर्शना रहेका छन् । विशेषज्ञ समितिको सुझाव नआएसम्म पुनर्निर्माणको काम नगर्ने निष्कर्षमा महानगरपालिका पुगेको छ ।

रानीपोखरीको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं महानगरपालिकाले पुनर्निर्माणमा कंक्रिटको प्रयोग गरेपछि पुरातत्वविदहरुले यसको विरोध गरेका थिए । सम्पदा नै नासिने गरी पुनर्निर्माणको काम सुरु गरिएको भन्दै पछिल्लो पटक उपमेयर हरिप्रभा खड्गीले रानीपोखरीको गेटमै तालाबन्दी गरेकी थिइन् ।

तर, मेयर शाक्यले ताला तोडेपछि रानीपोखरी पुनर्निर्माणको विवाद उत्कर्षमा पुगेको थियो । यता काठमाडौं महानगरपालिकाले भने पुरातत्व विभागले कंक्रिट प्रयोग गर्ने वा नगर्ने भन्ने स्पष्ट निर्देशन नदिएकाले यसको निर्माण कार्य विवादमा परेको बताएको छ ।

महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शर्माले रानीपोखरीको पुनर्निर्माण पूरानै शैली र स्वरुपमा हुने भएपछि यस सम्बन्धमा देखिएको सबै विवाद समाधान भईसकेको जनाए । मल्लकालीन राजा प्रताप मल्लले बनाएको पुरातात्विक महत्वको रानीपोखरी २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त पारेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);