गरिबको ढाड भाँच्ने कर | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

गरिबको ढाड भाँच्ने कर

garib

जाजरकोट, ३० साउन । जिताएर पठाएका जनप्रतिनिधिबाट जनताले सुविधा चाहेका थिए । सेवा दैलामै आउला भन्ने आशा गरेका थिए । तर, पचास गुनासम्म कर बढाएपछि भेरी नगरका जनता आक्रोशित छन् ।

भेरी नगरपालिका–२ रिसाङ्गकी डिला पुनले घरजग्गाको मालपोत प्रतिवर्ष १६ रुपैयाँ बुझाउँथिन् । तर नगरपालिकाले गत वर्षदेखि लगाएको एकीकृत सम्पत्ति करबापत उनले एकैपटक १९ हजार बुझाउनु पर्‍यो । एकाएक भएको करवृद्धिबाट उनी दिक्क छिन् । ‘आम्दानी खासै नहुने १७ रोपनी बारी र चारकोठे घर मात्रै छ,’ पुनले भनिन्, ‘स्थानीय सरकार बनेपछि सेवासुविधामा परिवर्तन छैन, अस्पतालमा सिटामोल नि पाइँदैन । सामान्य उपचारका लागि पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । तर हामीजस्ता गरिबको ढाड सेक्ने गरी कर उठाइएको छ । हामीलाई बिल्कुल चित्त बुझेको छैन ।’
भेरी–३ थाप्लेका कृष्णविक्रम शाहले घरजग्गाको कर हरेक वर्ष नौ सय ११ रुपैयाँ बुझाउँथे । अहिले एकीकृत सम्पत्ति करबापत उनले ४० हजार रुपैयाँ तिरे । उनको ६५ रोपनी खेत तथा पाखोबारी र सदरमुकाममा दुई घर छन् । ‘त्यो जमिन र घरबाट खासै आम्दानी छैन’, शाहले भने, ‘तर स्थानीय सरकारको चर्को कर तिर्न म बाध्य छु । एकैपटक पचासौं गुणा बढेको छ ।’
सेवासुविधा नपाइने, आम्दानी नहुने तर करवृद्धि गर्ने कार्यले जनताले सुशासन अनुभुति नगरेको उनले सुनाए । उनले भने, ‘करवृद्धि जनतामाथि अन्याय हो । आम्दानीअनुसार पो कर हुनुपर्‍यो । यसरी त हाम्रो छाक नै काटिने भयो ।’ नगरले कर बढाएसँगै बजारमा मूल्यवृद्धि भएको उनले बताए ।
भेरी–४ का ललितजंग शाहले यसअघि सात रुपैयाँ तिरो तिर्थे । अहिले एक हजार तिरे । सोही वडाकी योगमाया कार्कीले पाँच रुपैयाँ तिर्थिन् । यसपटक ६ सय ५० तिर्नुपर्‍यो । ‘स्थानीय सरकारसँगै सिंहदरबारको अधिकार गाँउमै आउला र सेवासुविधा बढ्ला भन्ने सोचेका थियौं,’ लतिलजंगले भने, ‘तर एक वर्षको अनुभवले त्यो गलत सावित गरिदियो । सुविधा बढेको छैन, कर मात्रै बढाइएको छ ।’ उनले संघीयता जनताका लागि नभएर नेताका लागि मात्रै भएको गुनासो पनि सुनाए ।
भेरी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि एकीकृत सम्पत्ति कर लगाएको हो । सो करको नाममा चर्को शुल्क असुलेको भन्दै गत वर्ष नगरवासीले आन्दोलन समेत गरेका थिए । आन्दोलन रोक्न केही कर र सिफारिस दस्तुर हेरफेर गरिएको थियो । तर स्थानीय बासिन्दा अझै असन्तुष्ट छन् । कतिले बढेको रकम तिर्न सकेका छैनन् ।
सेवा शुल्कमा १२ गुणा वृद्धि
एकीकृत सम्पत्ति करको नाममा चर्को राजश्व असुलिरहेको भेरी नगरपालिकाले सेवा शुल्क पनि १२ गुणा बढाएको छ । जन्म, मृत्यु र विवाह दर्ताबापत २५ रुपैयाँ लिन्थ्यो । अहिले तीन सय रुपैयाँ पुर्‍याएको छ । त्यस्तै नामथर तथा जन्ममिति संशोधन सिफारिसमा २५ रुपैयाँ लिन्थ्यो । अहिले त्यो पनि तीन सय पुर्‍याएको छ ।

मुद्दा दर्ता र उपभोक्ता समिति गठन सिफारिसमा एक सय ५० दस्तुर लिइन्थ्यो । त्यो बढाएर पन्ध्र सय बनाइएको छ । नगरपालिकाले निजी टेलिफोन र धारा जडान सिफारिसमा पाँच सय लिन्छ । विद्युत जडान सिफारिस, बसोबास प्रमाणित, घरको चार किल्ला प्रमाणितमा प्रत्येकमा एक हजार लिन्छ । नगरभित्रका योजनाको कार्य सम्पन्न सिफारिसमा एक हजारदेखि दश हजारसम्म लिन्छ । यसअघि यिनै कामको सिफारिस गर्दा निकै कम शुल्क लिने गरिन्थ्यो ।
रुखको हाँगा काट्दा पनि दस्तुर
भेरी नगरले रुखको हाँगा काट्नेदेखि कुखुरा निकासीसम्ममा दस्तुर लिन्छ । रुख काट्न खोजे सिफारिसमै पाँच सय रुपैयाँ र हाँगा काट्ने भए दुई सय दस्तुर तिर्नुपर्छ ।

नगरले सानो कुखुरा निकासी पैठारीमा प्रतिकुखुरा ५ रुपैयाँ लिन्छ । खसीबाख्राको ५०, गोरुको एक सय, र राँगा÷भैसीको दुई सय रुपैया प्रतिगोटा निकासी दस्तुर तोकेको छ । नगरपालिकाका लेखापाल डम्बर विष्टले भने, ‘नगरसभाबाट एकीकृत सम्पति कर लागू गरिएको हो र सेवा शुल्क पनि बढाइएको हो ।’ नगरप्रमुख चन्द्रप्रकाश घर्तीले नगरकै विकासका लागि करका दायरा बढाइएको दाबी गरे । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);