गाजामा इजरायली हवाई आक्रमणमा हमासका सुरक्षा अधिकारीसहित परिवारका चार जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८३, शुक्रबार

गाजामा इजरायली हवाई आक्रमणमा हमासका सुरक्षा अधिकारीसहित परिवारका चार जनाको मृत्यु

गाजा सहरमा इजरायलले गरेको हवाई आक्रमणमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका एक वरिष्ठ अधिकारीसहित उनकी पत्नी र दुई छोरीको मृत्यु भएको छ । बुधवार बिहान गाजा सहरको पश्चिममा रहेको अल–शाती शरणार्थी शिविरस्थित एक अपार्टमेन्टलाई लक्षित गरी इजरायली ड्रोनले क्षेप्यास्त्र प्रहार गरेको प्यालेस्टिनी तथा स्वास्थ्य स्रोतले जनाएका छन् । आक्रमणपछि अपार्टमेन्टमा आगलागी भएको थियो । स्वास्थ्य स्रोतका अनुसार घटनामा चार जनाको मृत्यु भएको छ । उनीहरूको शव गाजा शहरस्थित अल–शिफा मेडिकल कम्प्लेक्समा पु¥याइएको थियो । हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले मृतकहरूको पहिचान सार्वजनिक गर्दै ४७ वर्षीय कर्णेल मोहम्मद अबु अल–औफ, उनकी ४१ वर्षीया पत्नी नुरा अबु अल–औफ तथा १५ र १३ वर्षीया दुई छोरीको मृत्यु भएको जनाएको छ । मोहम्मद अबु अल–औफ उत्तरी गाजा प्रान्तको आन्तरिक सुरक्षा सेवाका निर्देशक थिए । हमासद्वारा सञ्चालित मन्त्रालयले आक्रमणलाई सर्वसाधारणविरुद्धको ‘जघन्य अपराध र नरसंहार’ भन्दै निन्दा गरेको छ । गाजाको सुरक्षा संयन्त्र कमजोर पार्ने र प्यालेस्टिनी समाजमा अराजकता फैलाउने प्रयासस्वरूप आक्रमण गरिएको उसको आरोप छ । यस घटनाबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । गाजा सहरको पश्चिमी क्षेत्रमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा सेवाका प्रमुख नइम अबु नाहाल पनि इजरायली हवाई आक्रमणमा मारिएको एक दिनपछि पछिल्लो घटना भएको हो ।

Leave a Reply

ताजा समाचार