काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारबिरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
नेपाली जनसम्पर्क समिति युरोपको पोर्चुगलमा आयोजित कार्यक्रममा भाग लिएर मंगलबार स्वदेश फर्केका कांग्रेस उपसभापति विमलेन्द्र निधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै बिहिबार बस्ने पार्टीको बैठकले सरकारविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।
आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहु विधेयकको रुपमा संसदमा पेश नगरेसम्म सडक र सदन दुवैतर्फको आन्दोलन नरोकिने उनको भनाइ छ । उपसभापति निधिले चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।




