चाड महिलाको, गीत पुरुषको | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चाड महिलाको, गीत पुरुषको

pashupati sharma na radhika hamal

काठमाडौँ, ७ साउन । तीज आउन झन्डै डेढ महिना बाँकी छ, सांगीतिक माहोल भने सुरु भइसकेको छ । भदौ २७ मा परेको तीज (हरितालिका) लाई लिएर अहिले नै धमाधम म्युजिक भिडियोहरू रिलिज भइरहेका छन् ।

रोचक के भने, तीज गीतमा बिस्तारै पुरुष स्वर हावी हुँदै गएको छ । गायकहरू खुमन अधिकारी, पशुपति शर्मा, रामजी खाँडलगायत तीज गीतमा सर्वाधिक चलेका गायक हुन् । उनीहरू पछिल्लो समय रेकर्डिङ र भिडियो सुटिङमा व्यस्त छन् ।

खुमनले एक महिनाबीच २४ वटा भाका गाइसकेका छन् । ‘यस पटक तीजको छन्द नआउने गीत गाउन इन्कार गरिदिएँ,’ उनी भन्छन्, ‘यसो गर्दागर्दै पनि कतिपय दिदीबहिनीलाई नाइँ भन्न नसकेर दुई दर्जन गीत गाइयो ।’

तीज गीतका थरिथरि भिडियोमा थरिथरि रूपरंगमा देखिँदै आएका पशुपतिले हालसम्म ‘गोली मार्दे पुतली’, ‘लौरी हरायो’, ‘रेलैमा फरर’ जस्ता भाका बाहिर ल्याइसकेका छन् । अघिल्ला वर्षको तुलनामा यसपालि निकै कम गाएको उनी बताउँछन् । ‘पोहोर–परार ११ वटासम्म गाएको थिएँ,’ उनी भन्छन्, ‘धेरै गाउनुभन्दा राम्रा गाउनुपर्छ भन्ने लागेर संख्या घटाएको हुँ । यो पालि चारवटा गाएको छु । अब थप गाउँदिनँ ।’

महिलाको चाड भए पनि पुरुषहरूले सर्वाधिक गाउनुलाई लिएर कतिपयले खिसीटयुरी गर्ने गरेका छन् । यस विषयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा पनि बहस भएको गायिका राधिका हमाल बताउँछिन् । ‘नारी–पुरुष बराबर भनिरहेका बेला तीजलाई किन महिलाप्रधान बनाउने भन्ने प्रश्न उठ्यो,’ प्रतिष्ठानकी महिला सचिवसमेत रहेकी उनी भन्छिन्, ‘तर, यो मूलत महिलाकै चाड भएकाले मैले चाहिँ एकल स्वरमा पनि तीज गीत गाएकी छु ।’

पशुपतिलाई भने तीजमा महिलाले मात्र गाउनुपर्छ भन्ने कुरा वाहियात लाग्छ । उनी यो पर्वमा पुरुषको अहं भूमिका हुने भएकाले आफूहरूले गाउँदा निन्दा र खिसी गर्नु जायज मान्दैनन् । भन्छन्, ‘दिदी–भाइ, दाजु–बहिनी, श्रीमान–श्रीमती, सासू–ससुरा सबै जोडिन्छन् तीजमा । तीजसँग पुरुषको यत्रो सम्बन्ध हुँदाहुँदै पुरुषले गाए भनेर घोचपेच गर्न सुहाउँदैन । तीज महिलाहरूको चाड भएकाले गायनमा पनि उनीहरूलाई नै प्राथमिकता चाहिँ दिनैपर्छ । त्यसो गर्दा कम्तीमा महिला प्रतिभाले अवसर पाउँछन् । त्यही भएर मैले अहिलेसम्म सोलो तीज गीत गाएकै छैन ।’

गायकहरूको कुरा छँदै छ, तीजका बेला मोडलहरूको व्यस्तता पनि उत्तिकै बढ्ने गरेको छ । प्रकाश सपूत, अञ्जली अधिकारी, सन्दीप न्यौपाने, आरुषी मगर, करिश्मा ढकाल जस्ता मोडल तीज गीतका म्युजिक भिडियोमा अचेल राम्रै छाएका छन् । ‘मैले हालसम्म ४० वटा तीजे भिडियोमा काम गरिसकें,’ गायकसमेत रहेका प्रकाश भन्छन्, ‘साउनभरिमा ५० नाघ्छ ।’ उनी एउटा भिडियो खेलेबापत् १५ हजारदेखि २० हजारसम्म पारिश्रमिक लिन्छन् । दिनमा तीन वटासम्म भिडियो सुट गर्ने गरेका छन् । यस पालीको अर्को पक्ष के छ भने, दिनकै नयाँ गीत बाहिर आइरहे पनि तीमध्ये कुनै चर्चित बनेका छैनन् ।

व्यक्तिगत अनुभवलाई तीज गीतमा उतार्दै आएकी कोमल वलीले यस पटक माननीय हुँदा भोग्नुपरेका भनसुनका सन्दर्भलाई प्रसंग बनाएकी छन् । पशुपतिसँगको दोहोरीमा कोमलले आफूलाई आदर्श सांसदका रूपमा प्रस्तुत गर्न भ्याएकी छन् । ‘माननीयज्यू’ बोलको गीतमा उनले सिस्टमप्रति आरोप लाउँदै आफूलाई भने यसरी आदर्श बनाएकी छन् ।

देश लुटेर खाने यहाँ रैछ चलनचल्ती
हजुरकी छोरीले गर्ने छैन गल्ती

पछिल्लो समय सार्वजनिक भाकामध्ये कोमलको यो गीत युट्युबको ट्ेडिङ सूचीमा पनि परेको छ । यो सँगै उनले अर्को तीज भाका पनि बजारमा ल्याएकी छन् । असारमै रिलिज गरिएको ‘आऊ दिदीबहिनी हो’ मा उनलाई उनकी दिदी प्रज्ञा शरदले गायनमा साथ दिएकी छन् ।

राधिकाले यसपालि मात्रै १४ वटा तीज गीत रेकर्ड गराइसकेकी छन् । उनका ‘जन्मघर माइतैमा’, ‘शिरैमा शिरफूल’, ‘रातै चोली रातै साडी’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन् । गत वर्ष उनले ५४ वटा तीज गीत गाएकी थिइन् । ‘आम्दानीको मौसम पनि हो यो,’ उनी भन्छिन्, ‘प्रतिगीत १५ हजार रुपैयाँ पारिश्रमिक लिन्छु ।’

नयाँ र स्थापित दुवै थरी गायक– गायिकालाई यति बेला तीज गीतकै चटारो छ । अनु राना मगर, राजेन्द्र कँडेल, अञ्जु गौतम, कल्पना गुरुङ, प्रकाश ढकाल जस्ता नवगायकगायिकाले आफ्नो स्वरलाई तीज लयमा उतारेका छन् । अनु र राजेन्द्रले ‘तीज आएको बेला’ गीतमा नाचगान गर्दै चाडपर्व मनाऔं भन्ने सन्देश दिएका छन् । वियोगान्तभन्दा मनोरञ्जक गीत गाउनु उचित लाग्ने उनीहरूको भनाइ छ ।

अञ्जुले ‘ढल्कीढल्की जान्छु माइत’ को म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । अविवाहित युवतीका तीजे मनोकांक्षा समेटिएको गीत राजकुमार बगरले लेखेका र संगीतबद्ध गरेका हुन् । बगरले यसमा आधुनिक गीतको स्वाद आउने गरी कम्पोजिसन गरेका छन् । कल्पना गुरुङ, रामु रावत र वीरबहादुर केसीले भने, ‘भाँचम् कम्मर भाँचम् ’ बोलको गीत ल्याएका छन् । कृष्ण सुवेदी र मालती रानाले ‘तिरिरि बज्यो मुरली’ गाएका छन् भने मधुसूदन डाँगी र पुजा बिहानीले ‘धागो चर्खाले’ मा भाका हालेका छन् ।

घटदै स्तर
एकै गायक वा गायिकाले एक सिजनमा ५४ वटासम्म ‘तीज गीत’ गाएको रेकर्ड भए पनि हरितालिका तीजका दिन गुन्जिने भनेको उही ‘तीजको लहर आयो बरी लै’ नै हो । यत्तिका नयाँ गीतमध्ये किन कुनै गीत दोस्रो तीजसम्म टिक्दैनन् । वरिष्ठ लोकगायक नारायण रायमाझी भन्छन्, ‘अचेल तीज गीत बनेकै छैनन् । तीजको नाममा उत्ताउला गीत गाउने चलन छ । स्रष्टाहरू पनि बढी व्यावसायिक भए । यस्तो हुँदा उनीहरूमा संस्कृतिप्रतिको संवेदनशीलता हुँदैन, गीत बिकाउने ध्याउन्न मात्र हुन्छ ।’

साथीसंगीले जेठदेखि नै तीज भाका रेकर्ड गरेर म्युजिक भिडियो सार्वजनिक गरिसक्दा पनि पुरानी गायिका लक्ष्मी न्यौपाने अझै समय कुरेर बसेकी छन् । पर्व आउनु एक महिनाअघि मात्रै नयाँ भाका निकाल्ने उनको योजना छ । ‘बेला छ अझै,’ उनी भन्छिन्, ‘अहिले तयारी गर्दै छु ।’

तीज गीत भन्नासाथ उहिलेकै जस्तो चुरा, पोते, व्रत, माइतका कुरा मात्र गाइरहनु नपर्ने नयाँ पुस्ताको बुझाइ छ । यसलाई सधैं रुन्चे शैलीको बनाउनुभन्दा नयाँ कन्सेप्टमा गाउन खोज्नुपर्ने नवगायिका भूमिका गिरी बताउँछिन् । ‘दिदी–बहिनीबीचको संवाद शैलीमा मैले तीज गीत गाएकी छु,’ उनले भनिन्, ‘पुराना गीत चले भन्दैमा त्यस्तै दोहोर्‍याउनु भएन, त्यसैले आफ्नै तरिकाले गाएँ ।’ उनले ज्योति मगरसँग ‘विकृति’ बोलको तीजे दोहोरी पनि गाएकी छन् ।

तर, समय बदलिए पनि तीज गीतलाई हल्काफुल्का बनाउन नहुने अग्रजको राय छ । गायक रायमाझी भन्छन्, ‘पहिले पनि कहाँ वेदना मात्र गाइन्थ्यो र  तीज गीतमा सामाजिक जनजीवन उतारिएको हुन्थ्यो, शालीन व्यंग्य हुन्थ्यो । अहिले त्यस्तो छैन ।’ कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);