संगीतमा छैन सहकार्य | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संगीतमा छैन सहकार्य

sangit sahakarya

काठमाडौँ, १७ भदौ । नारायणगोपालले गाएको ‘एउटा मान्छेको मायाले कति’ गीतको संगीत तयार पार्न दीपक जंगमलाई त्यो बेला हम्मेहम्मे परेको थियो ।

चाँदनी शाहका शब्दलाई आफूले बीसौं पटक अलगअलग लयमा प्रयोग गर्दै नारायणगोपाललाई सुनाएको दीपक सम्झन्छन् । ‘सकेसम्म गीतकार, संगीतकार, गायक र वाद्यवादक सबैबीच सहकार्य हुन्थ्यो,’ उनी भन्छन्, ‘एकअर्काको सुझबुझ मिसाएर गीत तयार पाथ्र्यौं ।’

उनकै कुराबाट प्रस्ट हुन्छ, संगीत सिर्जनाको परम्परागत शैली सामूहिक पहलमा आधारित थियो । अहिले शैली फेरिएको छ । समूहभन्दा पनि एक्लैले सबैथोक ‘हयान्डल’ गर्ने चलन आएको छ । गीत लेख्ने, संगीत भर्ने, गाउने र एरेन्जमेन्टको कामसमेत एकै जनाले सम्हालेको हामी देख्छौं । सफ्टवेयरमै धुनहरू उपलब्ध भएपछि वाद्यवादकको जरुरी पर्न छोडेको छ । यसरी हेर्दा संगीतमा सहकार्य टुटदै गएको आभास हुन्छ ।

पछिल्लो पटक फिल्मी गीतमा खुब जमिरहेका राजनराज शिवाकोटीलाई नै हेरौं । उनी संलग्न ‘सुर्के थैली खै’, ‘पूर्व पश्चिम रेल’, ‘चरी चट्ट परी’, ‘कुटुमा कुटु’ लगायत जति पनि चर्चित गीत छन्, सबैमा राजनकै शब्द, संगीत र गायन छ । उनले गायन र एरेन्जमेन्टमा भने अरूको सहयोग पनि लिएका छन् । ‘मलाई सुट हुने, मेरो प्याटर्न सुहाउँदो गीत भयो भने आफैं गाउँछु,’ राजनराजले भने, ‘मेरो स्वरमा सहज महसुस भएन भने मेरा कम्पोजिसन र रचना अरूलाई दिन्छु ।’

राजनराज आफूले अरूका शब्दमा पनि संगीत भर्दै आएको दाबी गर्छन् । आफ्नो कम्पोजिसनमा नवीन के भट्टराई, अनिल सिंह, सुगम पोखरेल, अञ्जु पन्त, रामकृष्ण ढकाल लगायत गायकगायिकाले आवाज दिएको उनले बताए । ‘संगीत भनेको सिक्ने प्रक्रिया हो,’ उनले भने, ‘यो कहिल्यै पूर्ण हुँदैन । आफूले गाएर, अरूलाई गाउन दिएर, आफैं लेखेर र लेख्न लगाएर सिक्छौं हामी ।’ अरूका शब्द बलिया नलागेको खण्डमा आफैंले लेख्ने गरेको उनको भनाइ छ ।

राजनराज प्रतिनिधि संगीतकर्मी हुन् । पछिल्लो पुस्ताका म्युजिसियन आफूलाई एकै विधामा सीमित राखिरहेका छैनन् । युटयुबबाट परिचित भएकाहरू यस मामिलामा अझ अगाडि छन् । नितेशजंग कुँवर, तृष्णा गुरुङ, सज्जनराज वैद्य, बार्तिका राईलगायत गायकगायिकाहरू आफ्ना लागि प्राय आफैं शब्द सिर्जना गरेर संगीत भर्दै गाउँछन् । संगीतमा ‘वान म्यान आर्मी’ शैली अपनाइन थालिएको छ ।

‘सबैथोक जान्नु त टयालेन्ट हो नि,’ गायिका तृष्णा गुरुङ भन्छिन्, ‘आफ्नो आइडिया अरूसँग म्याच नहुन सक्छ । मेरा शब्दको फिलिङ्स मैले नै बढी बुझ्न सक्छु । आफैंले लेखेर र संगीत भरेर गाउन सक्नु हाम्रा लागि प्लस प्वाइन्ट हो ।’ यसो गर्दा स्रष्टाले गीतलाई सबै कोणबाट केलाउन सक्नुपर्ने उनले बताइन् । त्यसो त उनलाई सहकार्य अझै ‘बेटर अप्सन’ हो भन्ने पनि लाग्छ । ‘अलगअलग आइडिया जोडिँदा झनै राम्रो परिणाम आउँछ,’ उनी भन्छिन्, ‘मैले अरूका गीत पनि गाएकी छु ।’

नेपालमा मात्र नभएर विदेशतिर पनि गायक संगीतकारले आफैं शब्द रचेर गाउने गरेको देखिन्छ । एड सिरन, टेलर स्विफ्ट, सिया, एडल, केसालगायत गायकगायिकाले गीत लेखनमा पनि आफूलाई स्थापित गराएका छन् । उनीहरूमध्ये अधिकांशचाहिँ अर्को गीतकारसँग सहकार्य गरिरहेका हुन्छन् । जस्तै, ‘समवन लाइक यु’ गीतमा एडल र गायक डान विल्सनको संयुक्त शब्द रचना छ । एड आफ्ना लागि जति गीत लेख्छन्, अरूका लागि पनि उत्तिकै लेखिदिन्छन् ।

र्‍याप सुपरस्टार मानिने ड्रेकलाई केहीअघि गीत लेखनमा अदृश्य लेखक प्रयोग गरेको आरोप लागेको थियो । उनी घोस्ट राइटरलाई गीत लेखाउँछन् भन्ने कुरा व्यापक बनेपछि ड्रेकले भनेका थिए, ‘संगीतमा सहकार्य गर्नु के अनौठो भयो । यो त झनै राम्रो काम हो ।’
आधुनिकमा सहकार्य राम्रो
गीत भनेको शब्द, संगीत र गायनको त्रिवेणी भएकाले तीनवटा नदी एउटैले पार गर्दा गीत कमजोर बन्न सक्ने गीतकार राजेन्द्र थापा बताउँछन् । ‘लोकशैलीमा कम्पोजिसन र शब्द सँगसँगै हुने हुँदा संगीतकार स्वयंले लेख्नु स्वाभाविक हो,’ उनले भने, ‘तर, आधुनिक गीतमा तीन बेग्लाबेग्लै स्रष्टाको एक त्रिवेणी राम्रो हुन्छ । एक बेस्टले सबै गर्नुभन्दा तीन बेस्टले एक गर्नु राम्रो ।’

थापाले अम्बर गुरुङ र गोपाल योञ्जनहरूले पनि गीत लेख्दै गाउने गरेको बताए । उनका अनुसार यो पुरानै चलन हो । तर, पूर्वीय संगीत सभ्यतामा शब्द, संगीत र गायनलाई तीन अलग विधा मानिएकाले तीन अलग स्रष्टाको आआफ्नै विशेषता हाल्नु उचित हुने उनको तर्क छ । ‘तीन जना आ आफैं हेडमास्टर हुन्,’ उनले भने, ‘एउटै स्रष्टा सबैतिरको हेडमास्टर हुँदा कुरा खलबलिन्छ ।’
संगीतकारले नै गीत लेख्दा उसको संगीतकार दिमाग बढी हाबी हुने थापाको बुझाइ छ । यसले गर्दा गीत कमजोर बन्न सक्ने बताए । ‘अचेल पारिश्रमिकको कारण पनि संगीतकार र गायक आफैंले गीत लेख्न थालेका हुन्,’ उनले भने, ‘यसो गर्दा गीतकारलाई दिने पारिश्रमिक बच्ने भयो नि ।’कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);