बाजुरा, २४ असार । बाजुराको बडीमालिका नगरपालिकामा वडा अध्यक्षहरुले लगाएको ताला खोलिएको छ । नगरपालिकाका प्रमुख पदम बडुवालले आगामी नगर कार्यपालिकाको बैठकबाट समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि ताला खोल्न वडाअध्यक्षहरु सहमत भएका हुन् ।
यद्यपी, प्रशासनिक कक्ष र लेखा शाखामा लगाइएको ताला खोलिएपनि प्रमुख उपप्रमुखको कार्यकक्षमा लगाइएको ताला भने खोलिएको छैन । कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मारमा पर्ने भएकाले माग पूरा नभएसम्म प्रमुख र उपप्रमुखको कार्यकक्षमा तालबन्दी जारी राख्ने वडा नम्बर ९ का वडाअध्यक्ष विनोदकुमार विश्वकर्माले बताए ।
नगर प्रमुख र उपप्रमुखले विभेद गरेर बजेट विनियोजन गरेको आरोप लगाउँदै नेकपाबाट विजयी भएका पाँच वडाका वडाअध्यक्षले नगरपालिकामा तीन दिन अघि तालाबन्दी गरेका थिए ।