दीपेश दाहाल
सुर्खेत, २३ असार । विभिन्न सात बुँदे माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका विद्यार्थीहरु अनसन बसेको पाँच दिन भएको छ । उनीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर, विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदेखाएको विद्यार्थीहरुले बताएका छन्
विभिन्न ७ बुँदे माग राख्दै विद्यार्थीहरु अनसनमा बसेका छन् । तर, इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पुर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरु पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।
यस्तै दश प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइब्रेरीमा प्रर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबे्ररीको व्यवस्था गराउनुपर्ने र सम्पुर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्था गर्नुपर्ने पनि उनीहरुको माग रहेको छ ।
तर, माग सम्बोधन गर्नुको साटो विश्वविद्यालयका पदाधिकारीले प्रहरी लगाएर आन्दोलन दबाउन खाजेको विद्यार्थीहरुले बताएका छन् । विश्वविद्यालयले बेवास्ता गर्दा अनसनरत विद्यार्थीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
अनसनरत रतनकुमार शर्मा र रोशन बस्नेतलाई आइसियूमा राखिएको छ । आन्दोलनरत विद्यार्थीलाई वार्ताका लागि बोलाए पनि पदाधिकारी नआएपछि आक्रोसित विद्यार्थीहरुले विश्वविद्यालय परिसरमा नाराजुलुस समेत गरेका छन् । नाराजुलुसमा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढी विद्यार्थीहरु घाइते भएका छन् ।
विश्वविद्यालय परिसरमा हतियारसहित पुगेका प्रहरीले विद्यार्थी माथि लाठि प्रहार गरेका छन् । विश्वविद्यालय परिसरमा छिरेका प्रहरी र विद्यार्थीवीच झडप भएको हो । शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षप गरेको भन्दै आन्दोलनरत विद्यार्थीहरु थप आक्रोसित भएका छन् । इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरु रतनकुमार शर्मा, मिलन बिसी र रोशन बस्नेत आमरण अनशनमा बसेका छन् ।




