काठमाडौं, २३ असार । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी असोज ३ गते भित्र मौलिक हकसम्बन्धि सबै कानुन लागू गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री तामाङले संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गते भित्र संविधान कार्यान्वयनसम्बन्धि सबै कानुन निर्माण गर्न सरकार केन्द्रित भएको स्पष्ट पारे । काठमाडौंमा आयोजित सबै प्रदेशसभाका सांसदहरुको कानुन निर्माणसम्बन्धि क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभाको कानुन निर्माणको कामलाई सहज बनाउन सरकारले नमूना कानून पठाउने काम गरिरहेको पनि स्मरण गराए ।
मन्त्री तामाङले कानुन निर्माणको कामलाई अझै प्रभावकारी बनाउन अनुसन्धानको दायरालाई फराकिलो पार्दै लैजानुपर्नेमा जोड दिए । उनले प्रदेश र स्थानीय तहको कानुन निर्माणमा सरकारले सक्दो सहजीकरण गरिरहेको दाबीसमेत गरे ।