निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा नेविसंघको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निषेधित क्षेत्र तोड्दै माइतीघर मण्डलामा नेविसंघको प्रदर्शन

काठमाडौं, २० असार । नेपाली काँग्रेसमा आवद्ध नेपाल विद्यार्थी संघले निषेधित क्षेत्र तोड्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

सरकारले जनताको स्वतन्त्रतापूर्वक विरोध प्रदर्शन गर्न पाउनुपर्ने क्षेत्रलाई निषेधित क्षेत्र तोकेको, वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको माग सम्बोधन गर्न तयार नभएको लगायतको विरोधमा निषेधित क्षेत्र तोड्दै संघले काठमाडौंको माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेको हो ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने जनताको साझा चौतारीको रुपमा स्थापित भएको माईतीघर मण्डलामा समेत शान्तिपूर्वक विरोध प्रर्दशन गर्न नपाउने व्यवस्था सरकारले गरेपछि त्यसको विरोधमा उत्रनु परेको संघका पूर्व अध्यक्ष एवम् काँग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई समेत माईतीघर मण्डलामा शान्तिपूर्ण ढंगले अनसनमा बस्न नदिएपछि त्यसको विरोध गर्नु परेको भन्दै आक्रोश व्यक्त गरे ।

मंहगीको विरोधमा समेत उत्रिएका संघका नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोडेपछि प्रहरी र प्रर्दशनकारीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो । त्यसक्रममा संघका कार्यकर्ताद्धय निरन्जन थापा र अर्वत खड्का घाइते भएका थिए ।

घाइतेमध्ये खड्काको हाल वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने थापा प्राथमिक उपचार पछि घर फर्किएका छन । नेपाली काँग्रेसले सरकारविरुद्ध प्रर्दशन गर्न आह्वान गरेलगत्तै नेविसंघले काठमाडौंको माईतीघर मण्डलामा तोकिएको निषेधित क्षेत्र तोड्दै सरकारविरुद्ध प्रर्दशन गरेको हो ।

त्यसक्रममा संघका नेता, कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चर्का नाराबाजी गरेका थिए । संघले महंगी नियन्त्रण माग गर्दै सरकारविरुद्ध काठमाडौंलगायत देशभर प्रर्दशन गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);