‘किरिया बस्ने ठाउँसमेत भएन’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘किरिया बस्ने ठाउँसमेत भएन’

badi

काठमाडौं, २० असार । घरले च्यापिएर ज्यान गुमाएका रोल्पाका तीन जनाको सामूहिक दाहसंस्कार गरिएको छ । तर, किरिया बस्नका लागि सुरक्षित स्थान नभएपछि मृतकका परिवारहरू आफन्तको घर पुगेका छन् । सोमबार बिहान पर्खाल भत्किएर घर च्यापिँदा १८ दिने शिशुसहित तीन जनाको मृत्यु भएको थियो ।

घटनापछि रोल्पा रुन्टीगढी गाउँपालिको सेबाङ गाउँ शोकमा डुबेको छ । १८ दिने २२ वर्षीया सुत्केरीको मृत्युले छिमेकीसमेत विक्षिप्त बनेका छन् । आर्थिक अवस्था कमजोर भएपछि ममर्त गर्न नसक्दा एक दिनकै वर्षाले घर भत्काएको थियो । पर्खाल भत्किएर घरमा पुरिएपछि रुन्टीगढी गाउँपालिका–५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीय कमला विश्कर्मा, उनकी १८ दिने छोरी र जेठाजुको १५ वर्षीय छोरी चित्रा विश्कर्माको मृत्यु भएको थियो ।

रोल्पामा १८ दिनकी सुत्केरी र शिशुसहित तीन मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ । सोमबार मृत्यु भएका दुई परिवारलाई राहत रकम र आवश्यक सामग्री हस्तान्तरण गरिएको हो । शोकमा डुबेका परिवारलाई रुन्टीगढी गाउँपालिकाले काजकिरियाका लागि मृतकअनुसार २५/२५ हजार उपलब्ध गराएको छ । अध्यक्ष बालाराम बुढाका अनुसार १५ हजार बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडासमेत उपलब्ध गराइएको छ ।

सदरमुकाम लिबाङबाट मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि गौतमले घटनास्थल पुगेर सरकारको तर्फबाट राहत हस्तान्तरण गरेका हुन् । प्रतिमृतक एक लाख दिने गरी हाल ३०/३० हजार उपलब्ध गराइएको छ । होलेरीस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले पनि भाँडाकुँडा, लत्ताकपडा, त्रिपाललगायत सामग्री उपलब्ध गराएको छ । रेडक्रसले होलेरी बजारमा राहत संकलन अभियानसमेत चलाइरहेको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीका विशेष जिल्ला पार्टी इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ सहितको टोलीले पनि मृतक परिवारलाई १५ हजार सहयोग उपलब्ध गराएको छ । पीडित परिवार छिमेकीको घरमा किरिया बसेका छन् । परिवार र गाउँ शोकमा डुबेको छ । मृतक तीनै जनाको पोस्टमार्टमपश्चात् एकै ठाउँमा दाहसंस्कार गरिएको थियो ।

गाउँपालिका अध्यक्ष बुढामगरले सहयोग अभियान चलाएर भए पनि पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता दिएका छन् । गाउँका अन्य घरसमेत जोखिममा रहेकाले स्थानीय त्रसित छन् । विपन्न समुदायको बस्ती रहेको गाउँका प्रायः पुराना घर माटोले बनेका छन् । राम्रो छानोसमेत नभएकाले पानी पर्नासाथ घर भत्किने खतरा रहेको स्थानीय बताउँछन् ।

मृतकलाई एक लाख
नेपालगन्ज बाँकेमा सोमबार बाढीबाट मृत्यु भएकाहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिले एक/एक लाख रुपैयाँ दिने भएको छ । समितिका संयोजक तथा बाँके प्रजिअ रमेशकुमार केसीले केन्द्रीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार मृतकलाई जनही एक लाख रुपैयाँ दिने बताए ।

बैजनाथ गाउँपालिकाले भने प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेप्रति प्रतिव्यक्ति १० हजार रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर माझीले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गरिने बताए । आइतबार र सोमबार परेको अविरल वर्षाले बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक गरी चार जनाको मृत्यु भएको थियो ।

सतर्क होऔं प्रजिअ

यसैबीच मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गरी राप्ती किनारमा राप्ति सोनारी, डुडुवा र नरैनापुर गाउँबासीलाई जुनसुकै बेला पनि बाढीको खतरा रहेकाले सतर्क रहन आह्वान गरेको छ । प्रजिअ केसीले जारी गरेको विज्ञप्तिमा नदीले बगाएका दाउरा टिप्न, नदीमा नुहाउन नहुने र बालबालिकालाई नदी किनारबाट टाढै राख्न आग्रह गरिएको छ । आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);