पोल्याण्डमाथि कोलम्बियाको सानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

पोल्याण्डमाथि कोलम्बियाको सानदार जित

colambia vs poland

काठमाडौं, ११ असार । विश्वकपको समूह एचअन्तर्गत पहिलो खेलमा जापानसँग पराजय व्यहोरेको कोलम्बियाले अन्तिम १६ मा प्रवेशको आशा जीवित राखेको छ ।

गएराति भएको खेलमा पोल्याण्डलाई ३–० गोलअन्तरले पराजित गरेर कोलम्बियाले अन्तिम १६ मा प्रवेशको आशा जीवित राखेको हो । कोलम्बियालाई विजयी गराउन जेम्स रोड्रिग्वेजले उत्कृष्ट प्रदर्शन गरे । घाइते रहेका कारण पहिलो खेलमा मैदान वाहिर रहेका रोड्रिग्वेजको पासमा येरी मिनाले खेलको ४० औं मिनेटमा कोलम्बियाका लागि पहिलो गोल गरे ।

पहिलो हाफमा १–० गोलअन्तरको अग्रता लिएको कोलम्बियाले दोस्रो हाफमा दुई गोल थप्यो । फाल्काओले खेलको ७० औं र कुड्राडोले त्यसको ५ मिनेटपछि गोल गरेर कोलम्बियालाई ३–० गोलअन्तरको जित दिलाए । पराजयसँगै पोल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ । पोल्याण्ड प्रतियोगिताबाट वाहिरिने पहिलो युरोपेली मुलुक हो ।

गएराति नै भएको समूह एचको अर्को खेलमा जापान र सेनेगलले २–२ गोलको बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टीमको चार चार अंक भएको छ । जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्याण्डलाई पराजित गरेका थिए । बराबरी भएको खेलमा सेनेगलले अग्रता लिएको थियो । सेनेगलले खेलको ११ औं मिनेटमा सादिओ मानेको गोलमा अग्रता लिएकामा जापानले ३४ औं मिनेटमा बराबरी गोल फर्कायो । ७१ औं मिनेटमा सेनेगलले पुनः अग्रता लियो । तर त्यसको सात मिनेटपछि सब्स्टिच्युट खेलाडी होन्डाले बराबरी गोल फर्काए ।

जापान र सेनेगलबीचको खेल बराबरी तथा कोलम्बियाको जितसँगै समूह एचको प्रतिस्पर्धा रोचक बनेको छ । यो समूहबाट अन्तिम १६ मा छनोट हुने मुलुकको टुंगो लाग्न अब अन्तिम खेलको नतिजा पर्खनुपर्ने भएको छ । पहिलो चरणका अन्तिम खेल आज सुरु हुँदै छन् । समूह ए का इजिप्ट र साउदी अरेबिया तथा रसिया र उरुग्वेबीच राति ७ः४५ तथा समूह बी का पोर्चुगल र इरान तथा स्पेन र मोरक्कोबीच ११ः४५ बजे खेल हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);