दयाहाङ फिल्म खेल्न कम गर्दै छन् ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दयाहाङ फिल्म खेल्न कम गर्दै छन् ?

daya hang

काठमाडौँ, ६ असार । अभिनेता दयाहाङ राईलाई लाग्दै आएको आरोप नै थोकको भाउमा फिल्म खेल्न थाल्यो भन्ने हो । यसलाई स्वयं दयाहाङले पनि न नकारेका नै छन्, न त खेल्न कम नै गर्न चाहे ।

पहिलो अभिनीत ‘अनागरिक’ नै रिलिज नभएपछि सुरुवाती फिल्मी यात्राले खासै नोटिस नभए पनि रंगमञ्चबाट भने उनी राम्रा कलाकारको छविमा थिए । ‘सिरुमारानी’ मार्फत रंगमञ्च अभिनय थालेका दयाहाङलाई ‘लुट’ को गोप्लेले भने एकाएक चर्चित बनाइदियो ।

उनको लुजर क्यारेक्टरलाई दर्शकले अत्यधिक रुचाइदिनु र ‘लुट’ ले पनि अत्यधिक सफलता हात पारेपछि दयाहाङले फिल्म खेल्न तिकडम गरिरहनुपरेन । बरु उनलाई फिल्म मनाएर खेलाउनका लागि फिल्म मेकरले राम्रै कसरत गर्नुपर्ने अवस्था आयो । एकाध वर्षयता त यस्तो पनि अवस्था आयो, उनकै फिल्म आपसमा भिड्नेदेखि लगातारका सातामा रिलिज हुनेसम्मका परिदृश्य देखिए ।

कुनै बेला दयाहाङलाई कलाकार लिँदा विदेशी बजारमा फिल्म बेच्न सजिलो हुनेठान्नेहरूलाई समेत पछिल्ला वर्ष सहज भएन । आफ्नो घटो बजारलाई दयाहाङले नबुझ्ने कुरै भएन । सोमबार आफू अभिनीत फिल्म ‘भैरे’ को ट्रेलर रिलिज कार्यक्रममा दयाहाङले अबउप्रान्त फिल्म खेल्न कम गर्ने बताए ।

‘पछिल्लो समय मप्रति फिल्म निर्देशक, निर्माताले फिल्म प्रचारप्रसारमा समय नदिएको गुनासो बढेको छ र म आफैंले पनि मिडिया र फिल्मकर्मीसँग दोहोरो संवाद गर्न सकिरहेको छैन,’ दयाहाङले कार्यक्रममा भने, ‘सायद धेरै फिल्म खेलेकाले पनि सुटिङबाहेकको समय नभएकोले यस्तो समस्या आएको हो ।’

राष्ट्रिय चलचित्र पुरस्कारमा अभिनयतर्फ सर्वाधिक तीनपटक विजयी भइसकेका दयाहाङ क्षमतावान् कलाकार भएकोमा कसैको दुई मत छैन । तर पछिल्ला वर्षमा भने उनलाई राम्रा र प्रभावकारी फिल्म कम खेलेको र दाम आउने फिल्ममा बढी चासो देखाएकोले करिअर बिगार्दै गएको उनकै शुभचिन्तकको चिन्ता बढ्न थालेपछि दयाहाङ सचेत हुन खोजेका छन् ।

‘अब धेरै फिल्म खेल्दिनँ भनेर ग्याप गरिरहेको छु,’ दयाहाङले भने, ‘तर अझै पनि साथीभाइ र इष्टमित्रको नाताले फिल्म खेलिदिन भन्दै आउने अनुरोध कम भएको छैन । यतिसम्म हुन्छ कि मैले फिल्म खेलिदिएको खण्डमा मात्र निर्माता लगानी गर्न तयार हुने बाध्यकारी प्रस्ताव लिएर निर्देशक आउनुहुन्छ । यदि मैले खेलिदिएर उहाँको जागिर पनि बच्छ भने किननखेल्दिनु त भनेजस्तो हुन्छ । यसरी पनि फिल्म संख्या बढ्छ ।’

‘धेरै फिल्म खेल्दिनँ भने पनि यतिसम्म हुन्छ कि मैले फिल्म खेलिदिएको खण्डमा मात्र निर्माता लगानी गर्न तयार हुने बाध्यकारी प्रस्ताव लिएर निर्देशक आउनुहुन्छ । मैले खेलिदिएर उहाँको जागिर पनि बँच्छ भने किन नखेल्दिनु त भनेजस्तो हुन्छ ।’
उनले साउन ४ मा ‘भैरे’ रिलिजपछि पनि पाइपलाइनमा ‘आप्पा’, ‘नीरफूल’ पछि ‘साइँली’ रहेको बताए । पछिल्लो पटक उनका ‘कान्छी’, ‘नेप्टे’, ‘हयाप्पी डेज’ जस्ता फिल्म दर्शकमाझ आए पनि उनको करिअरमा भने खासै मलजल भएन । ‘तान्द्रो’ जस्ता फिल्ममा उनको अभिनय तारिफ भए पनि बक्सअफिसमा भने डिजास्टर भयो ।

सायद त्यसैको डर उनलाई ‘भैरे’ मा पनि देखिएको हुनुपर्छ । उनले फिल्मको ट्रेलर विशुद्ध व्यावसायिक दृष्टिकोणबाट तयार पारिएको टिप्पणी गरे । फाइट र गीतको सिक्वेन्ससहितको उक्त ट्रेलर हेरेपछि नै दयाहाङले मिडियासमक्ष अब फिल्म खेल्न कम गर्ने बताएका थिए ।

एभरेस्ट सूर्य बोहोरा निर्देशित ‘भैरे’ खेल्नुको परिबन्ध उप्काउँदै दयाहाङले भने, ‘खासमा सूर्यजी अघिल्लै फिल्म ‘मुटु’ को स्क्रिप्टसहित प्रस्ताव लिएर आउनुभएको थियो । मैले स्क्रिप्ट पढेपछि उहाँलाई यो मेरो टाइपको फिल्म हैन भनेर पन्छाइदिएको थिएँ । यसपटक उहाँ फेरि आएर मेरो एउटा सपना यस फिल्ममार्फत भन्दै छु भनेपछि म खेल्न राजी भएको हुँ । मलाई लाग्छ, उहाँले इमानदार भई भन्न खोजेको कुरा फिल्ममा उतार्नुभएको छ ।’

‘भैरे’ मा दयाहाङसहित सुरक्षा पन्त, वर्षा शिवाकोटी, विक्रान्त बस्नेत, बुद्धि तामाङ, सुनील थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, जान्वी बोहोरा, जयनन्द लामा, सुरवीर पण्डित, अर्जुन गुरुङसहितका कलाकारले अभिनय गरेका छन् । निर्देशक बोहोराकै पटकथा रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले संयुक्त रूपमा निर्माण गरेका हुन् । कान्तिपुरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);