Our Network

असोज ११ २०७८, सोमबार

घन्किए “ओल्ड इज गोल्ड”

चितवन, ५ असार । पप गायक सञ्जय श्रेष्ठले हिमालयन ब्यान्डको सदाबहार गीत ‘मुसुमुसु हाँसिदेऊ न लै लै, मुसुमुसु हाँसिदेऊ’ सुनाइसकेपछि आफ्नो लोकप्रिय गीत गाए– ‘माया, मेरी माया, हाम्रो मिलन कहिले हुन्छ । ’

यो सुनेपछि नारायणगढको होटल सेन्ट्रल पामको हलमा भेला भएका धेरैजसो दर्शकश्रोता नोस्टाल्जिक भए । कति नाच्न थाले । तर, सञ्जयले गीतको संख्या बढाउने अवस्था थिएन । ५० को दशकका अरू चर्चित पप गायकहरू पनि प्रस्तुत हुँदै थिए ।

हरीश माथेमाले पनि हिमालयन ब्यान्डकै ‘मायाले माया गाँसिदेऊ’ र आफ्नै ‘आँखाको नानी हौ तिमी, जीवनमा आइदेऊ न’ गाए । बबिन प्रधानले पनि दुई गीत नै प्रस्तुत गरे । सचिन रौनियार ‘छ भनूँ कि छैन भनूँ ’ गीतसहित झुल्किए । भीम तुलाधरले ‘अँगालो अँगालोमा’ र ‘मेरी त घरकी आमालाई एउटी बुहारीको खाँचो छ ’ गाउँदा दर्शकश्रोताले ताली बजाउँदै गायकलाई साथ दिए ।

जेम्स प्रधानले ‘आइदेऊ आइदेऊ तिमी मेरो जीवनमा आइदेऊ’ र ‘बमबम भोले ’ ले माहोल तताए । पुण्यम् प्रधानले ‘कहाँ तिम्रो मायालुलाई छाडिराख्यौ ’ र कवीन्द्र श्रेष्ठले ‘डाँडामा मेला लागेछ ’ गाए ।

नारायणगढ रोटरी क्लबद्वारा आयोजित ‘ओल्ड इज गोल्ड म्युजिकल इभिनिङ’ मा यीसहित चौध गायकले प्रस्तुति दिए । यति धेरै गायक एकै मञ्चमा हुनुको एउटै उद्देश्य थियो– चेपाङका लागि शिक्षामा सहयोग गर्नु । क्लबले चितवनको पहाडी क्षेत्रमा बस्ने चेपाङ समुदायका बालबालिकालाई सहयोग गर्दै आएको छ । कान्तिपुरबाट