फर्केर हेर्दा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १ बैशाख । माहोल नयाँ वर्षको छ । सर्वसाधारणदेखि सेलिब्रिटीसम्म शुभकामना आदानप्रदान गरिरहेका छन् । सामाजिक सञ्जालहरू रंगिएका छन् । व्यक्तिगत उपलब्धिको हिसाबले वर्ष २०७४ कस्तो रहयो त  ?
नयाँ एल्बम सकाएँ
आस्था राउत, गायिका
मेरो दोस्रो एल्बम ‘आधार २’ को काम सकियो । रेकर्डिङ, मिक्सिङ भ्याइसकेँ । यो नै मेरा लागि २०७४ को सबैभन्दा ठूलो उपलब्धि रहयो । एल्बममा सात गीत छन् । फोक पपमा बेस्ड भएर मैले विभिन्न विधालाई छुन खोजेकी छु । नयाँ सालको तीन महिनाभित्र एल्बम बजारमा आइसक्छ । ‘वुमेन इन कन्सर्ट’ टुरमा अमेरिका गएर त्यहाँका पाँच सहरमा कार्यक्रम गरियो । महिला सशक्तीकरणका लागि भएकाले मिनिमम कस्टमै कार्यक्रम गरेँ । त्यसमा भाग लिन पाउनुलाई पनि ठूलो कुरा मानेकी छु ।
दुई नाटक, चार फिल्म
दयाहाङ राई, अभिनेता
धेरै उल्लेखनीय काम गरेँजस्तो त लाग्दैन । दुइटा नाटक बनाएँ, चारवटा फिल्म खेलेँ । ‘घामपानी’, ‘लुट’, ‘मिस्टर झोले’, ‘कान्छी’ लगायत फिल्म रिलिज भए । यीमध्ये कुनैमा खुब मिहिनेत गरिएको थियो, बहुत ध्यान दिएर काम गर्दा पनि त्यसअनुसारको आउटकम आएन । कहिलेकाहीँ यस्तै हुँदो रहेछ । त्यसैले यसपालिका मेरा सबै फिल्म औसत थिए, कुनै बेस्ट भएन । समग्रमा ०७४ साल सामान्य रहयो । सम्झनलायक काम केही गरेनछु, कि बिर्सिए ?
जिम जान थालेँ
सुरक्षा पन्त, अभिनेत्री
इन्जिनियरिङमा मास्टर्स ज्वाइन गरेँ । फिल्महरू धेरै खेलिनँ, अलि चुजी बनेँ यसपालि । अर्को सालचाहिँ फ्लेक्जिबल बन्ने योजना छ । असारमा ‘धनपति’ रिलिज भएको थियो । मेरो कामको सराहना भयो । सबैले राम्रो रेस्पोन्स गरेकाले धेरै खुसी भएकी थिएँ । त्यसपछि फिल्मको अफर निकै आए । ‘भैरे’ र ‘चंगा चैट’ छानेँ । कामकै सिलसिलामा मुस्ताङ पुगें, त्यति नजिकैबाट कहिल्यै हिमाल देखेको थिइनँ । स्थानीय कला, संस्कृति बुझ्न पाएँ । वि सं २०७४ ले हेल्थ कन्सस पनि बनायो । जिम जान थालेकी छु ।

‘न्यानो माया’ बाँडेँ
आशिष राना (लाउरे), गायक
गएको जाडो महिनामा घरघरमा गएर लुगाहरू उठाएँ । अनि, सडकका बालबालिकालाई दिएँ । ‘न्यानो माया’ शीर्षकमा थालिएको त्यो काम पोखरामै सीमित भए पनि केही गर्न सकेको महसुस भएको थियो । यो नै वि सं २०७४ को मेरो बेस्ट काम हो । साथै, पोखरामा नयाँ र्‍यापर भाइहरूलाई प्रोडयुस गरेँ । आयुश, प्रवीण, रेजनहरूले राम्रो गरिरहेका छन् । मेरो आफ्नै म्युजिक भिडियो ‘सुपर रागा ’ पनि निकै चल्यो । पाँच महिनामा युटयुबमा ५३ लाख भ्युज पुग्ने यो नै पहिलो नेपाली र्‍याप गीत हो ।
सामाजिक विषयमा कलम चलाएँ
कुमारी लामा, लेखक
दुई महिनामा एकचोटि हुँदै आएको ‘आहवान संवाद’ कार्यक्रममार्फत साहित्यिक सक्रियता जारी राखेँ । ‘आत्मलेखनमा इमानदारी’, ‘हिमाल आरोहणमा जान लागेका पाँच युवतीका कथा’ जस्ता विषयले बहस सिर्जना गरे । यो हाम्रो लागि उल्लेखनीय कुरा हो । यसपालि विविध सामाजिक विषयमा कलम चलाएँ । तेस्रोलिंगी समुदायबारेको ‘महिला पुरुषभन्दा पर’, छाउपडीजस्ता कुप्रथाविरुद्धको ‘रातो आतंक’ र अपांगताको विषयमा ‘एक पाटो समाज’ जस्ता सिर्जना मेरा बेस्ट काम थिए । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);