फेरि एरिक भाली | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०७९, मंगलबार

फेरि एरिक भाली

aarik

काठमाडौँ, ६ कात्तिक । पहिरोले थुनिएको गोरेटो बाटो माथि डरलाग्दो भीर मुनि कुटो, कोदालो, साबेलले ढुंगामाटो पन्छाउँदै छन् गाउँलेहरू । उनीहरूको आँखामा पहिरो खस्ने त्रास स्पष्ट देखिन्छ । नभन्दै एक्कासि ठूलो आवाजसहित पहाडबाट ठूला ढुंगा खस्न थाले ।

ज्यान जोगाउन उनीहरू भागाभाग गरे । कसैलाई केही भएन तर दुखले खोलेको बाटो पहिरोले फेरि पुरिदियो । कुमारी हलको पर्दामा हालै यो दृश्य हेर्दै गर्दा कतिपय दर्शक आत्तिए । यो कुनै एनिमेटेड दृश्य थिएन, फ्रान्सेली निर्देशक एरिक भालीको नयाँ डकुमेन्ट्री फिल्म ‘बियोन्ड द क्लाउड्स’ को वास्तविक दृश्य थियो । २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडित भएकाहरूको दैनिकी एरिकले आफ्नो क्यामेरामा कैद गरेका छन् ।

यति बेला काठमाडौं आइपुगेका उनको फिल्मको हालै कुमारी हलमा विशेष सो गरिएको थियो । दुर्गम डोल्पाको आङ नै सिरिङ हुने जनजीवन र प्राकृतिक कठिनाइ कैद गरिएको ‘क्याराभान’ पनि उस्तै प्रकृतिको ‘बियोन्ड द क्लाउड्स’ सहित उनी फेरि आएका हुन् । नेपाली कथावस्तुमै एरिकले ‘हनी हन्टर’, ‘हिमालयन गोल्ड रस’ लगायत डकुमेन्ट्री फिल्महरू पनि बनाएका छन् ।

‘बियोन्ड द क्लाउड्स’ मा चार वास्तविक पात्रहरू छन् । शिव गुरुङ, राजकुमार गुरुङ, सुखबहादुर गुरुङ र छेवाङ दोर्जे लामा । भूकम्पले घर भत्किएपछि बनाउने आशसहित घरबाट पैसा कमाउन कलिलै उमेरमा निस्किएका शिव, राजकुमार र सुखबहादुरको जिन्दगीलाई डकुमेन्ट्रीले पछ्याएको छ । छेवाङ भने सहरबाट घर फर्किदै छन् । झन्डै सत्तरी वर्ष उमेरमा पनि उनी सत्तरी किलो नै भारी बोक्छन् । उनी डकुमेन्ट्रीमा भन्छन्, ‘युवावस्थामा म ९० किलो बोक्न सक्थेँ । मैले जति गाउँमा कसैले बोक्न सक्दैनथे । अहिले ७० किलो मात्रै बोक्न सक्छु ।’
डकुमेन्ट्री छायांकन गर्दै गर्दा ती पात्रहरूबाट ‘सर्भाइभल स्किल’ सिकेको एरिकले कार्यक्रममा बताए । पहिले भूकम्प आउँदा धेरैले नेपाललाई ध्यान दिए पनि अहिले नेपाललाई बिर्संदै गएकाले पनि डकुमेन्ट्री बनाएको एरिकले दाबी गरे । सन् २०१५ को जुनदेखि बनाउन सुरु फिल्म सकिन साढे दुई वर्ष लागेको उनले बताए । अरु फिल्म बनाउनुअघि उनी फिल्मको कन्सेप्ट, स्क्रिप्ट पहिले नै तयार पार्थे । तर यो फिल्म खिच्न भने उनी बिनास्क्रिप्ट नै फिल्डमा उत्रे ।

‘कहिलेकाहीँ एक्कासि पकेटबाट क्यामेरा, मोबाइल निकालेर पनि सटहरू खिचियो । यो रमाइलो अनुभव भयो,’ फिल्म सोपछि अन्तरक्रिया क्रममा उनले भने, ‘फिल्म निर्माण गर्नु हामीले सोचेको भन्दा धेरै महँगो पनि भयो, तर केही छैन ।’ कहिलेकाहीँ भने उनी दुख र समस्या देखेर फ्रस्ट्रेटेड पनि भएको सुनाए । गाउँमा पैसा कमाउने सम्भावना न्यून भएकोले नै युवाहरू गाउँ छोडेर कामको लागि बिदेसिएको पीडा एरिकले डकुमेन्ट्रीमार्फत देखाएका छन् । एरिक भन्छन्, ‘नेपालको मुख्य समस्या नै यहाँका युवाहरूले यही रोजगारी नपाउनु र काम गर्ने पूर्वाधार नहुनु हो । नेपालले आफ्नो युवाहरूलाई आफ्नै देशमा राख्नै सकेको छैन । देशको शक्तिलाई नेपालमै राख्न नसक्नु नेपालको कमजोरी हो ।’

एरिक नेपालका धेरै विकट ठाउँहरूमा बसेका छन् । उनले नेवार, तामाङ, गुरुङ क्षेत्री, शेर्पाहरूसित काम गरेका छन् । ‘म नेपाली पनि बोल्छु,’ उनले नेपालीमै भने, ‘नेपालका ठूला ढुंगाहरूसँग पनि लडाइँ खेलेको छु । दाल, भात र ढिँडो खाएको छु । चिसो भुइँमा सुतेको छु ।’
नेपालका विभिन्न जातिहरूको संस्कृति, इतिहास भिन्न भए पनि उनीहरूबीचको मेलमिलापले एरिकलाई मोहित बनाउँछ रे । ‘विश्व विभाजन हुदैछ । नेपालमा आएर थाहा पाएँ कि यदि तिमी बाँच्न चाहन्छौँ, भने तिमीहरू सँगै हुनुपर्छ,’ उनले भने, ‘सानो सानो कुराले भिन्न बनाए पनि, तर सँगै भयो भने तिमी जित्छौ । विभाजन भयो भने हामी मर्छौँ भन्ने थाहा भयो । मैले नेपालीहरूबाट यही सिकेँ । त्यसैले नेपाल एकदमै धेरै मनपर्छ ।’

उनी यो फिल्ममार्फत नेपालमा पर्यटकहरूलाई भित्र्याउन चाहन्छन् । र डकुमेन्टीको कमाइबाट गोरखाको एउटा विद्यालय बनाउन चाहन्छन् । फिल्ममा छायांकनको काम गरेका विष्णु घिमिरेका अनुसार डकुमेन्ट्री खिच्न जीएफओ, मोबाइल, ड्रोन लगायत प्रयोग गरिएको थियो । एरिकले नेपालको अर्को इस्युमा काम गरिरहेको बताए । यो एक वास्तविक युवाको कथामा आधारित रहेको उनले जनाए ।
‘बियोन्ड द क्लाउड्स’ यही शुक्रबारदेखि नेपाली हलहरूमा लाग्दै छ । कान्तिपुरबाट

अघिल्लो समाचार