व्यापार नभइरहेका बेला जुध्दै फिल्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

व्यापार नभइरहेका बेला जुध्दै फिल्म

FILM

काठमाडौँ, १२ असोज । पछिल्ला दिन नेपाली फिल्मको व्यापार खासै आशालाग्दो देखिँदैन । रिलिजमा तँछाडमछाड भने जारी नै छ । यो साता पनि दर्शकहरूले तीन नेपाली फिल्मको विकल्प पाउनेछन् । शुक्रबारदेखि प्रदर्शनमा आउने ‘कथा काठमाडौं’, ‘अनुराग’ र ‘छिरिङ’ तीनै फिल्मका निर्देशक नयाँ हुन् ।

सञ्चारकर्मी संगीता श्रेष्ठ पहिलो पटक ‘कथा काठमाडौं’ लिएर फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् भने कैयौं फिल्ममा सहायक निर्देशन भई काम गरेका सत्यराज चौलागाईं ‘अनुराग’ मार्फत निर्देशनमा डेब्यु गर्दै छन् । गायक हुँदै फिल्म ‘बाटोमुनिको फूल’ बाट अभिनेता र निर्मातामा आफूलाई प्रस्तुत गरिसकेका यशकुमार फिल्म ‘छिरिङ’ बाट निर्देशकको फुली पनि थप्ने सुरमा छन् ।

काठमाडौंभित्रका प्रतिनिधि तीन कथालाई फिल्ममा उठान गरेकी संगीताका लागि यति बेला फिल्मको प्रदर्शनी चुनौतीपूर्ण बनिरहेको छ । तीनमध्ये एक कथा हो, शारीरिक भोगको कथा जहाँ प्रेमीले प्रेमिकाबाट जबरजस्ती यौन सुख लिइरहेको छ । जसमा प्रियंका कार्कीले सुपर मोडल नोराको भूमिको निर्वाह गरेकी छन् भने ड्रग एडिक्ट प्रेमीको भूमिकामा प्रमोद अग्रहरी रहेका छन् ।

यति बेला यी दुई अभिनीत कथाका दृश्यले विवाद उत्पन्न गराएको छ । दुईको अन्तरंग दृश्यलाई लिएर सरकारको समेत ध्यानाकर्षण भयो भने सर्वसाधारणले समेत युटयुबदेखि सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया जनाइरहेका छन् । ‘प्रेम पो सुन्दर हुन्छ, देखिन्छ । घरेलु हिंसा बलात्कार पर्दामा पनि सुन्दर देखिँदैन,’ फिल्ममा बोल्ड सिन दिएकी प्रियंका त्यसको बचाउमा बोलिन्, ‘फिल्ममा पनि ती सिनलाई रेपकै रूपमा देखाउन खोजिएको थियो । बढी यथार्थपरक रूपमा देखाउँदा दर्शकलाई पचेन होला ।’ तर उनले नकारात्मक नै भए पनि प्रतिक्रिया दिइनुलाई आफूप्रतिको मायाकै उपज ठान्छिन् । भन्छिन्, ‘त्यो म हैन । मैले त केवल नोराको पात्र निर्वाह मात्र गरेको हो ।’

यता ‘अनुराग’ को चुनौती भने अर्कै छ । सञ्चारकर्ममै सक्रिय ऋषि धमला यसै फिल्मबाट निर्माताका रूपमा आउन लागेका छन् । ठूलो लगानीको जोखिम त एकातर्फ छ नै, साथसाथै यसै फिल्मबाट धमलाले आफ्नै पत्नी एलिजा गौतमलाई नायिकाको रूपमा ब्रेक पनि दिएका छन् । त्यसैले उनका लागि एलिजाको करिअरको पनि उत्तिकै चिन्ता छ ।

धमला आफू त फिल्म निर्माणका लागि नयाँ थिए नै, निर्देशक, नायिकादेखि नायकसम्म नयाँ नै लिएका छन् । तर धमला भने नयाँ फिल्ममा नयाँ कलाकार हुँदा दर्शकले पनि नयाँ स्वाद पाउनेमा आशावादी छन् । भन्छन्, ‘दर्शकले फिल्म रुचाइदिएपछि नै म सन्तुष्ट हुनेछु । पैसा वा नामका लागि बनाएको पनि हैन । लगानी उठाउँला वा नउठाउँलाभन्दा पनि दर्शकले आएर हेरिदिए पुग्छ ।’

‘छिरिङ’ का निर्मातासमेत रहेका यश कुमारलाई भने हलसम्म दर्शक आइदिए भने फिल्मले बाँधेर राख्नेमा विश्वास रहेछ । ‘पहिले त दर्शक फिल्म हेर्न हलसम्म आइदिनुपर्‍यो । फिल्म हेर्ने दर्शकले मज्जाले इन्जोय गर्नुहुनेछ । इन्टरभल पनि किन भएको होला भन्ने पर्नेछ ।’
प्रियंका र प्रमोद बाहेक आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला, प्रेक्षा अधिकारी लगायतको अभिनय रहेको ‘कथा काठमाडौं’ ले सहरभित्रका प्रेम, रोमान्स, दुव्र्यसनीलाई समेट्ने कोसिस गरेको छ भने ‘अनुराग’ लाई सांगीतिक प्रेमकथा भनिएको छ ।

जसमा एलिजा र समुद्र पण्डितको जोडीलाई देख्न सकिन्छ । निर्देशक चौलागार्इंले आगद केसीसँग मिलेर तयार पारेको पटकथामा थिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, शिशिर राणा, कमलकान्त मैनाली, विश्व बस्नेत लगायतको अभिनय रहेको छ । हिमाली भेगमा हुने बहुपति प्रथालाई आधार मानेको ‘छिरिङ’ मा गायक निमा रुम्बा र गायक यशकुमार दुवैले छिरिङको भूमिका निर्वाह गरेका छन् । कामना भुजेल छिरिङकी पत्नीको भूमिकामा छिन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);