भातेखोलामा इन्द्रजात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भातेखोलामा इन्द्रजात्रा

indra jatra

बझाङ, ९ असोज । ढँडार मष्टाको मन्दिरमा अब एक साता निकै चहलपहल हुनेछ । राजधानीमा इन्द्रजात्रा चल्दै गर्दा बझाङको भातेखोलामा रहेको मन्दिर परिसरमा भने मष्टो मेला सुरु भएको छ ।

इन्द्रसँगै जोडिएको यो मेला खस आर्यहरूको कुलदेवताको रूपमा पुजिने मष्टोको मुख्य मन्दिरमा रहेको ढँडारमा हुँदै आएको छ । मष्टो देवता इन्द्रपुत्र जयन्तको अर्को रूप मानिन्छ । रामायणकालमा इन्द्रको राज्य सुरक्षाका लागि उनले दानवहरूसँग युद्ध गरेको जयन्तले दानवसँग बहादुरीपूर्वक लडेर परास्त गरेको हुनाले उनलाई मष्टोको पदवी दिइएको किंवदन्तीहरूमा उल्लेख छ । स्थानीय भाषामा गाइने माँगलमा पनि इन्द्रपुत्र मष्टो भएको र उनी इन्द्रको दरबारबाट मत्र्यलोकमा आएका कथाहरू गाउने गरिन्छ ।

मेलाको अवसरमा मष्टो पूजाका लागि बझाङलगायत बाजुरा, अछाम, जुम्ला, हुम्ला मुगु, जाजरकोट, दैलेखबाट श्रद्धालुहरू आउने गर्छन् । अनन्त चतुदर्शीमा हुने मेलालाई स्थानीय बासिन्दा ढँडारको जात (जात्रा) भन्छन् । द्वादशीदेखि नै मन्दिर लिपपोत गरी सबै देवताका नाममा हवन तथा धामीमा मष्टोको औतार हुन्छ । अनन्त चतुदर्शीमा उमारिएको जमरा देवता औतार भएको धामीलाई चढाउने गरिन्छ ।
त्रयोदशीका दिन व्रत बसेर बेलुका भवानीको विशेष पूजा गरिन्छ । दियोबत्ती गरेर, शंखघण्टा बजाई पहिले भवानी, लाकुडा र लाटाहित पूजा गरिन्छ । शंख र घण्टको आवाजका साथै बाजाहरूका तालमा देवताको पोसाक लगाई धामीहरू नाच्छन् ।

पूर्णिमाको तीन दिनपछि यो मेलाको विधिवत् समापन हुने गर्छ । २०६४ सम्म ढँडारको मेलामा नारायणहिटी राजदरबारबाट कालो बोका, भेटी र वस्त्रसहित दरबारका प्रतिनिधि पूजामा आउने प्रचलन थियो । देशमा गणतन्त्र स्थापना भइसकेपछि दरबारबाट भेटी आउन रोकियो । मेलाको अवसर पारेर जिल्ला स्तरीय देउडा प्रतियोगिता, भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताको पनि आयोजना गरिएको ढँडार मष्टाका पुजारी गेडे धामीले बताए ।

देशभरि छरिएर रहेका खस आर्यहरूले मष्टोलाई विभिन्न नाममा पूजा गर्ने गर्छन् । मष्टो देवताका बाह्र स्वरूप र तेह्र भाइ रहेको विश्वास गरिन्छ । दुधेमष्टो, लडेमष्टो, सत्वगुणी मष्टो, दाह्रे मष्टो आदि मष्टाका स्वरूप हुन् । बढमष्टो, थार्पा मष्टो, बाबिरा मष्टो, लिउडि मष्टो, कामत मष्टो, सिम मष्टो लगायत चाहिँ मष्टोका भाइ हुन् । मष्टोलाई दुर्गा भवानीको भाइ मानिन्छ । यसर्थ हरेक मष्टोको मन्दिरनजिकै भवानीको स्थापना गरिएको हुन्छ ।

माटोका मालिक भएकाले मष्टोलाई मट्टे देवता, भूमि देवता वा भूमिया पनि भनिन्छ । डडेलधुरा, डोटीको केही भाग र बैतडीतिर मष्टोलाई भूमिराज देवता अथवा भूमेश्वरको नाममा पूजा गरिन्छ । भारतको उत्तराखण्ड क्षेत्रका गढवाल, पिथौरागढको चण्डाक लगायतका स्थानहरूमा मस्टा देवताका नामबाट मष्टोको पूजा हुने गरेको मष्टो संस्कृतिका अध्येता श्यामबहादुर खड्काको भनाइ छ । ‘पाकिस्तानमा रहेको हिउँलादेवीको मन्दिर र त्यसको आसपासमा बस्नेहरूले पनि मष्टोलाई बिबियानीका नामबाट पुज्ने गरेको उल्लेख पाइन्छ,’ उनले भने । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);