काठमाडौं, ३ असार । सम्बन्धित मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको आइतबारको बैठक अवरुद्ध भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित विधेयकमाथिको छलफलको कार्यसूची रहेकोमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरु नै उपस्थित नभएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले नियमापत्ति गरे ।
त्यस लगत्तै सभामुख कृष्णबहादुर महराले १५ मिनेको लागि बैठक स्थगित गरे । बैठक अबरुद्ध भएको हो । आइतबारको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफलको कार्यसूची थियो ।
प्रतिनिधिसभा सञ्चालन सम्बन्धी नियमावलि २०७५ को अनुच्छेद २ को धारा ६ को उपधारा ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था गरिएको छ । साथै कुनै मन्त्रालयका बारेमा विषयगत छलफल हुँदा बैठकमा सम्बन्धीत मन्त्रालयका मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था छ ।