एजेन्सी, १ असार । अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पको एउटा परोपकारी संस्थाविरुद्ध कार्बाहीको प्रक्रिया अगाडि बढाएको छ ।
न्यूयोर्क राज्यले ट्रम्प फाउन्डेशनमाथि एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको हो । न्युयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले फाउन्डेशनले डोनल्ड ट्रम्पका तर्फबाट चेकबुकको जस्तै काम गरेर विभिन्न व्यावसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभावीरुपमा रकम तिरेको आरोप लगाउँदै कार्बाही अगाडि बढाइएको बताए ।
महान्यायाधिवक्ताको कार्यालयले फाउण्डेशनविरुद्ध अभियोगपत्र तयार पारेको छ । अभियोगपत्रमा राष्ट्रपति ट्रम्प, ट्रम्प फाउण्डेशन र ट्रम्पका तीन सन्तान डोनल्ड जुनियर, इसिक र इभान्कामाथि कानून मिचेको आरोप लगाइएको छ । सन् २०१६ को राष्ट्रपति चुनावमा पनि ट्रम्प फाउन्डेसनसँग सम्बन्धित अनियमितताका आरोप बाहिर आएका थिए ।
ट्रम्प फाउन्डेशनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेको छ । राष्ट्रपति ट्रम्पले राजनीतिक रुपमा पूर्वाग्रहि राखी अनुसन्धान गरिएको भन्दै फोहोरी डेमोक्र्याटहरूले फाउण्डेशनविरुद्ध मुद्दा अघि सारेको आरोप लगाए ।




