राज्य आफैंले पत्रकारिताको हत्या गर्ने षडयन्त्र गरेको महासंघको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राज्य आफैंले पत्रकारिताको हत्या गर्ने षडयन्त्र गरेको महासंघको आरोप

नेपाल पत्रकार महासंघ

काठमाडौं, ३० जेठ । नेपाल पत्रकार महासंघले राज्य आफैंले सिंगो पत्रकारिताको हत्या गर्ने षडयन्त्र गरिरहेको आरोप लगाएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्य आफैं पत्रकारिताको हत्या गर्न लागि परेको आरोप लगाएका छन् ।

बुधबार ललितपुरमा आयोजित ‘डिफेन्डिङ जर्नालिज्म’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राज्य आफैँ मिडिया चलाउने खुलेआम निर्णय गरेर पत्रकारिताको हत्या गर्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै सचेत रहन पत्रकारहरुलाई आग्रह गरे ।

अध्यक्ष आचार्यले पत्रकारिताको आलोचनात्मक चेतलाई नै हत्या गर्ने षडयन्त्रविरुद्ध एकजुट हुन पनि सबै पत्रकारहरुलाई आह्वान गरे । उनले लोकतन्त्रमा संस्थाहरु बलिया नभए मनपरी तन्त्र सुरु हुने अवस्था आउने बताए ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार प्रतिक प्रधानले केपी ओली नेतृत्वको वर्तमान सरकारले पत्रकारितामाथि अकुंश लगाउने कोशिस गरिरहेको अनुभूति आफूलाई भईरहेको बताए । उनले पत्रकारहरुले सामाजिक संजालमा समेत आलोचनात्मक टिप्पणी गर्ने अवस्था नरहेको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले संविधानले नै अभिव्यक्ति स्वतन्त्रता हनन् हुनेगरी कानुन बनाउने व्यवस्था गरेको उल्लेख गर्दै त्यसमा सचेत हुन पत्रकारहरुलाई आह्वान गरे ।

उनले सामाजिक सदभावको नाममा पनि पत्रकारितामाथि अंकुश लगाउने प्रावधान आउन सक्ने खतरा रहेको औंल्याए । पुस्तकमा नेपालमा प्रेस स्वतन्त्रता खतरामुक्त अवस्थामा नरहेको चर्चा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);