व्यापार घाटा २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

व्यापार घाटा २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड पुग्यो

money

काठमाडौं, २८ जेठ । मुलुकको व्यापार घाटा २३ प्रतिशतले बढेर ९ खर्ब १९ अर्ब १८ करोड पुगेको छ ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निर्यातको तुलनामा आयात उल्लेख्य बढेका कारण व्यापार घाटा बढेर ९ खर्ब १९ अर्ब १८ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्म ९ खर्ब ८५ अर्ब ८३ करोडको सामान आयात भएको छ । आयात २१ दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

भारतबाट भएको आयात २३ दशमलव ४, चीनबाट भएको आयात २२ दशमलव ३ र अन्य मुलुकबाट भएको आयात १७ दशमलव २ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट लगायतका वस्तुको आयात बढेको छ । कृषि औजार तथा पार्टपुर्जा, हवाईजहाजका पार्टपुर्जा, सेनिटरीवेयर्स, सानो अलैंची लगायत वस्तुहरुको आयात भने घटेको छ । आयात आकासिंदा निर्यातको वृद्धि भने ९.२ प्रतिशतमा सीमित भएको छ ।
वैशाख मसान्तसम्म जम्मा ६६ अर्ब ६५ करोडको सामान निर्यात भएको छ । चीनतर्फको निर्यात उल्लेख्य रुपमा बढेको छ । भारततर्फको निर्यात वृद्धि ७ दशमलव १ प्रतिशतमा सीमित हुँदा चीनतर्फको निर्यात ८७ दशमलव ४ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा अलैची, जुटको बोरा, पोलिष्टर यार्न, धागो, अदुवा लगायत वस्तुको निर्यात बढेको छ । तर जि.आई पाईप, जुस, जुटको रस्सी, उनी गलैँचा, पस्मिना लगायत वस्तुहरुको निर्यात भने घटेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);