टायर पन्चर हुँदा तारा एयर विमान दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

टायर पन्चर हुँदा तारा एयर विमान दुर्घटना

tara air

काठमाडौं, २७ जेठ । जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नाइन एमएइभी कलसाइन भएको तारा एयरको ट्विनअटर विमान शनिबार दिउँसो सबा ३ बजे अवतरणको क्रममा दुर्घटना भएको हो । नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख कैलाश शर्माका अनुसार अवतरण गर्ने क्रममा अघिल्लो टायर पन्चर हुँदा विमान अनियन्त्रित भए धावनमार्ग छाडेर घाँसेमैदानतिरको तारजालीमा भासिएको छ । विमानको अघिल्लो भागमा क्षति भएको छ ।
यात्रुसहित चालक दल सकुशल

चालक दलका दुई सदस्यसहित विमानमा १६ यात्रु सवार थिए । सात महिला, १० पुरुष र दुई बालबालिका सबै सकुशल रहेको नागरिक उड्डयन कार्यालयले जनाएको छ । विमानका पाइलटमा जेके निरौला र कोपाइलट हिक्मत रोकाय थिए । यात्रुले विमान ठूलो दुर्घटनाबाट बचेको प्रतिक्रिया दिएका छन् ।

लोकसेवा आयोगको परीक्षा दिन आएका कैलारी गाउँपालिका–४ कैलालीका टेकराज चौधरीले विमान अवतरणको क्रममा टायर पन्चर भएको थाहा पाएपछि आफूहरू आत्तिएको, तर पाइलटको चलाखीले ठूलो क्षति हुनबाट जोगिएको बताए । लोकसेवा आयोगकै परीक्षा दिन पहिलोपटक जुम्ला आएका विजयकुमार आलेमगरले भाग्यले बाँचेको प्रतिक्रिया दिए । यसअघि जुम्लामा तारा एयरको ट्विनअटर विमान दुर्घटना भएको थियो ।

विमानस्थल स्तरवृद्धि भएन
गत फागुनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक टोलीले कर्णाली प्रदेशमा रहेका विमानस्थलको स्थलगत अवलोकन गरेको थियो । मन्त्रालयका सहसचिव सुरेश आचार्यको टोलीले मुगुको ताल्चा, हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, कालिकोटको कोटवाडा र जुम्ला विमानस्थलको स्थलगत अवलोकन गरेको थियो ।

सो क्रममा चाँडै विमानस्थलको स्तरवृद्धि हुने सहसचिव आचार्यले बताएका थिए । तर, अहिलेसम्म स्तरवृद्धिका लागि कुनै काम भएको छैन । पछिल्लो समय धावनमार्गमा पर्याप्त जग्गा नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);