काठमाडौं, १८ जेठ । आर्थिक वर्ष २०७५/०७६ को बजेटलाई लिएर आज पनि प्रतिनिधिसभामा सत्ता पक्ष र विपक्षी दलका सांसदबीच जुहारी चल्याे । प्रतिपक्षी दलका सांसदले बजेट हावादारी भनेर आलोचना गर्दा सत्तापक्षीय सांसदले वैज्ञानिक र समृद्धिको मार्गचित्रका रुपमा ब्याख्या गरे ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै मुख्य विपक्षी दल नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नाराको समुहको रुपमा बजेट आएको टिप्पणी गरे । रोजगारी वृद्धि गर्ने, निर्यात बढाउने र आयात घटाउने आधार बजेटमा कहीँ पनि नऔँल्याइएको उनको दाबी थियो ।
कांग्रेसकै सांसद बिनोद चौधरीले राज्यको खर्च गर्ने क्षमता वृद्धि नभएसम्म जति बजेट विनियोजन गरे पनि विकास नहुने बताए । यसमा सरकारको ध्यान जान नसकेको उनको भनाइ थियो ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले तराई मधेसको विकासप्रति सरकार गम्भीर नभएको सन्देश बजेटले दिएको टिप्पणी गरे ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले स्वास्थ्य, शिक्षा, कृषि, औद्योगिकरण र रोजगारका समस्या सम्बोधन गर्ने गरी बजेट आएको दाबी गर्दै सरकारको बचाउ गरे ।
नेकपाका सांसद अग्निप्रसाद सापकोटाले पनि प्रगतिशिल कर निर्धारण गर्ने तयारी तथा प्रत्येक प्रदेशमा शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा चालिएका कदम अत्यन्तै सकारात्मक रहेकाले बजेटले समृद्धिको दिशानिर्देश गरेको बताए । एकतादेखि भयभित भएर साना मसिना छिद्रामा अड्किएर प्रतिपक्षी दलले विरोधका लागि विरोध गरेको सापकोटाको टिप्पणी थियो।
सरकारले जेठ १५ मा ल्याएको बजेटबारे संसदमा छलफल भइरहेको छ । अहिलेसम्म सांसदहरुले बजेटबारे उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आइतबार दिने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।




