संघीय फोरम सरकारमा जाँदा राजपामा अलमल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

संघीय फोरम सरकारमा जाँदा राजपामा अलमल

foram rajapa

सरोज थापा
काठमाडौं, १८ जेठ
। प्रदेश नम्बर २ मा सरकारको नेतृत्व गरेको संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीले के गर्ला भन्नेमा आमचासो बढेको छ । दुबै पार्टीले संविधान संशोधनमा लिखित प्रतिबद्धता माग्दै आएका थिए । तर, सरकारमा जाने बेला भने सत्तारुढ दल र फोरमबीचमात्रै सहमति भएपछि यसको प्रभावबारे अड्कलबाजी सुरु भएको छ ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले लामो समयदेखि संविधान संशोधनका लागि संघर्ष गर्दै आएका छन् । त्यसक्रममा देखिएका थुप्रै अप्ठ्यारालाई यी दुबै दलले मिलेर पञ्छाए । अघिल्लो वर्ष वैशाखमा ६ वटा मधेस केन्द्रित दलहरु मिलेर राजपा बनेपछि फोरमसँगको सम्बन्धमा केही चिसो आयो । तर, प्रदेश र प्रतिनिधिसभाको चुनावमा उनीहरुले एउटै गठबन्धन बनाएर प्रदेश २ मा भाग लिए ।

निर्वाचनका परिणामअनुसार प्रदेश दुईमा संयुक्त सरकार पनि बनाए, जसको नेतृत्व संघीय फोरमले गरेको छ । तर, केन्द्र सरकारमा सहभागीताको विषयलाई लिएर अहिले दुई दलबीचको सम्बन्ध चिसिन थालेको विश्लेषण गर्न थालिएको छ । खासगरी फोरम सत्तारुढ दलसँग दुई बुँदे सहमति गर्दै सरकारमा गएपछि राजपाले अब के गर्ला भन्नेमा आमचासो बढेको छ । राजपाका नेताहरुले भने फोरम केन्द्र सरकारमा सहभागी भएको विषयलाई सकारात्मक भन्दै आफूहरु पनि सरकारमा जाने दाबी गरेका छन् ।

प्रधानमन्त्री बनेपछि ओलीले संसदको रोस्ट्रमबाट विगतको मधेस आन्दोलनमा उठेका माग, खासगरी संविधान संशोधनको कुरा स्वीकार गरेको भन्दै फोरम र राजपाले सरकारलाई समर्थन गरेका थिए । सरकारमा सहभागी हुन चाहिँ लिखित प्रतिबद्धता आउनुपर्ने उनीहरुको माग थियो । तर, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले फोरमसँगमात्रै सहमति गरेपछि राजपाका नेताहरु सशंकित बनेका छन् । त्यसैले सरकारमा लैजाने भए नेकपाले आफूहरुसँग छुट्टै सहमति गर्नुपर्ने उनीहरु बताउँछन् ।

यता, फोरमले केन्द्र सरकारमा आफ्नो सहभागीताले प्रदेश दुईको सत्ता गठबन्धनमा कुनै असर नपार्ने दाबी गरेको छ । बरु निकट भविष्यमै राजपा पनि सरकारमा आउने उसको ठम्याइ छ ।

संविधान संशोधनको मुद्दामा तत्कालीन एमाले अध्यक्ष ओलीसँग पानी बाराबारको स्थिति झेलेका मधेसकेन्द्रित दल उनै ओली नेतृत्वको सरकारमा सहभागी हुनुमा विश्लेषकहरुको मिश्रीत बुझाइ छ । कतिपयले शक्तिको आडमा प्रधानमन्त्री ओली निरंकुश हुन सक्ने टिप्पणी गरेका छन् भने कतिपयले समृद्ध नेपाल निर्माणको अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);