एजेन्सी, ७ जेठ । उत्तर कोरियाले यसै साता विदेशी पत्रकारहरुको उपस्थितिमा परमाणु परीक्षणस्थल नष्ट गर्ने जनाएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रम चाहेजति विकशित भइसकेकाले उत्तर आफ्नो परमाणु नष्ट गर्न तयार भएको विषेशज्ञहरुले टिप्पणी गरेका छन् ।
अन्ततः उत्तर कोरियाले यसै साता आफ्नो परमाणु परिक्षण केन्द्र नष्ट गर्ने तयारी गरेको छ । उत्तरले सन् २००६ बाट परमाणु परिक्षण गर्दै आएको पंग्गीरी कम्प्लेक्स अन्तर्राष्ट्रिय पत्रकारहरुको उपस्थीतिमा नष्ट गर्ने जनाएको छ ।
परमाणु परीक्षण स्थल नष्ट गर्नका लागि २३ देखि २५ मे काबीच प्राविधिक कार्य सुरु गरिने जनाइएको छ । तथापी पटक–पटक परमाणु परीक्षणका कारण उक्त स्थल आंशिक रुपमा ध्वस्त भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उत्तर कोरियाले परमाणु परीक्षण स्थल नष्ट गर्ने क्रममा दक्षिण कोरिया र अन्तर्राष्ट्रिय पत्रकारहरुलाई आमन्त्रण गरि पारदर्शिता प्रदर्शन गर्ने जनाइएको छ । यस अघि अमेरिकाले परमाणु परीक्षण रोक्न उत्तर कोरियालाई दबाब दिँदै आएको थियो ।
यसका लागि आर्थिक नाकाबन्दी समेत गर्दा उत्तरले ठूलो नोक्सानी बेहोर्नु प¥यो । उत्तर कोरियाले आफ्नो पंग्गीरी कम्प्लेक्स नष्ट गर्न तयार हुनुलाई विषेशज्ञहरुले भने उत्तरले परमाणु कार्यक्रम चाहेजति विकशित गरिसकेको र अरु परीक्षणको आवश्यकता नरहेको टिप्पणी गरेका छन् ।
सन् २००५ मा उत्तर कोरियाले आत्म रक्षाको लागि भन्दै परमाणु हतियार बनाएको बताएको थियो । कोरियाली प्रायद्धिपमा शान्ति र स्थिरताका लागि अमेरिका र दक्षिण कोरियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उत्तर कोरियाले जोड छ ।




