काठमाडौं, ११ जेठ । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी जुन १२ मा हुने भनिएको वार्ता स्थगित भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले किमका पछिल्ला वक्तव्यमा चरम आक्रोश र खुल्ला वैरभाव व्यक्त भएको भन्दै पत्र लेखेर वार्ता स्थगित भएको घोषणा गरेका हुन् । ट्रम्प र किमबीच जुन १२ मा सिंगापुरमा शिखर वार्ता हुने बताइएको थियो । ट्रम्पले किमलाई लेखेको पत्रमा अहिलेको समय किमसँग भेट्नु उपयुक्त नभएको उल्लेख गरेका छन् । उनले वार्ता स्थगनबाट संसारले दीर्घकालीन शान्तिको ठूलो मौका गुमाएको तर वार्ताको सम्भावना भने कायमै रहेको बताएका छन् ।
ट्रम्पले पत्रमा किमलाई आफूलाई फोन गर्न आग्रह गरेका छन् । उत्तर कोरियाले आफ्नो परमाणु सुरुङ नष्ट नष्ट गरेलगत्तै ट्रम्पले वार्ता स्थगित भएको घोषणा गरेका हुन् । उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन विदेशी पत्रकारहरुको उपस्थितिमा बिहीबार आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर नष्ट गरेको थियो ।
आफूसँगको शिखर बैठक रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति उत्तर कोरियाली नेता किमले दुःख व्यक्त गरेका छन् । किमले वार्ताका लागि आफूले ठूलो प्रयास गरेको भन्दै वासिङटनसँगका मतभेद जहिलेपनि जसरीपनि समाधान गर्न प्योङयाङ इच्छुक रहेको बताए । शिखर बैठक स्थगनको खबरपछि अन्तर्राष्ट्रिय समुदायले पनि निराशा व्यक्त गरेका छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी संसदमा विपक्षीहरूले ट्रम्पको चर्को आलोचना गरेका छन् । डेमोक्र्याटिक दलकी नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग गम्भीर व्यवहार गर्न नसकेको भन्दै ट्रम्पको आलोचना गरे ।