गोपाल पोखरेल
उदयपुर, ६ जेठ । बैकल्पिक राजमार्ग अन्तर्गत धरान–चतरा, गाईघाट–कटारी, सिन्धुली–हेटौडा सडक आयोजना पूर्वी खण्ड निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । भित्री मधेसलाई राजधानीसँग जोडने सबैभन्दा छोटो राजमार्ग निर्माणको कामले तीव्रता पाएको हो ।
डेढ बर्षअघि निर्माण कार्य सुरु भएको बैकल्पिक राजमार्गको हाल ३५ प्रतिशत भन्दा बढी काम भइसकेको छ । राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम भइरहेको छ भने घर टहराहरुको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निर्माण हुने स्थानहरुमा हुने विवादसमेत साम्य भैसकेको छ ।
रााष्ट्रिय गौरवको योजना मानिएको धरान चतरा गाईघाट कटारी सिन्धुली हेटौडा सडक आयोजना पूर्वी खण्डमा एक सय ३४ किलो मिटर सडक पर्दछ । सडक ११ मिटर फर्मेशन चौडाई भएको कालोपत्रे युक्त हुनेछ । सडक योजना ३ वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राखि २०७३ साल कार्तिक २२ गते निर्माण कम्पनी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरसँग ७ अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो ।
विभिन्न स्थानहरुमा सडकको सव ग्रेड, सव वेस, होम पाइप, स्लाभ कल्भर्ट, मेसिनरी वाललगायतका कामहरु भईरहेको निर्माण व्यवसायी जेडआईईसी शर्मा लामा जोइन्ट भेन्चरका डिपुटी कन्ट्याक्ट मेनेजर ईन्जिनियर सिताराम दाहालले बताए ।
राजमार्ग निर्माणको काम सकिएपछि सामाजिक र आर्थिक रुपान्तरण हुने अपेक्षामा उदयपुरबासी पनि उत्साहित भएका छन् । राजमार्ग निर्माण सम्पन्न भएपछि उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढी गाउँपालिका र कटारी नगरपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । यस्तै सिन्धुलीतर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै राजमार्ग हेटौँडासम्म जोडिने छ ।




