काठमाडाैं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टीआर भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनबाट सिँगो कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिष्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताउनुभयो । महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।





