म्याद सकिएको ३ वर्ष वित्दासमेत फोक्सिङ्टार पक्की पुल अलपत्र, अस्थायी बेलिब्रिजमै सकियो चार करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

म्याद सकिएको ३ वर्ष वित्दासमेत फोक्सिङ्टार पक्की पुल अलपत्र, अस्थायी बेलिब्रिजमै सकियो चार करोड

उदयपुर । सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-दिक्तेल सडकमा पर्ने सुनकोशी नदीको मोटरेबल पक्की पुल निर्माणको म्याद सकिएको तीन वर्ष बितिसक्दासमेत निर्माण कम्पनीको लापरवाहीले पुल बन्न सकेको छैन । तोकिएको सम्झौता भन्दा तीन वर्ष ढिला हुँदासमेत मोटरेबल पक्की पुलको काम ४८ प्रतिशत सकिएको भएको छ । कम्पनीको लापरवाहीका कारण सुनकोशी नदीको निर्माणाधीन पक्की पुल निर्माण हुन नसकेको हो । निर्माणधीन पुलको निर्माण कार्य अलपत्र अवस्थामा छ ।

उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटार र खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे अवस्थित सुनकोशी नदीमा निर्माण हुन लागेको पक्की पुल निर्माण कार्य लामो समयदेखि अलपत्र भएको हो । नदीको वारी र पारी पिलर मात्र उठाएर छाडिएको छ । पिलर गाड्ने कामबाहेक कुनै काम हुन सकेको छैन । ढिलाई हुनुमा ठेकेदार र विभागका उच्च पदस्थ कर्मचारी जिम्मेवार भएको खोटाङबासीको आरोप रहेको छ । 

दुई जिल्लालाई जोड्ने मोटरेबल पक्की पुल निर्माण सुरु भएको ९ वर्ष पुग्यो । २० चैत २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम आधा पनि नहुँदा दुई जिल्लाबासीलाई आउजाउमा समस्या भइरहेको छ । गाईघाट–दिक्तेल सडकको उदयपुरतर्फ रौतामाई गाउँपालिका– ५ र खोटाङतर्फ खोटेहाङ गाउँपालिका– ९ बीचको फोक्सिन्टारमा निर्माणाधीन पुल २३ चैत २०६९ मा ठेक्का सम्झौता भएको थियो ।

साढे ४ मिटर गहिरो फाउन्डेसन, ४ मिटर उचाई र १२० मिटर लामो पुल निर्माणको जिम्मा गौरी पार्वती र वाईपी जेबीले लिएको छ । ३ स्पानको सो पुल बनाउन सडक विभागले १९ करोड ६० लाखमा निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ धरानले सो पुल निर्माणको प्राविधिक रेखदेख गर्ने जिम्मा पाएको छ । पुलको काम उदयपुर र खोटाङतर्फ जमिनको सतहभन्दा माथिसम्म पिलर उठाउने काम भएको छ । 

निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले कोरानाको बहाना बनाएर काम नगरेको गाईघाट दिक्तेल सडक योजना कार्यालयको गुनासो छ । सुपरस्ट्रक्चर नै पूरा नभएकाले पुलको काम गर्न अझै निकै समय लाग्नेछ । कोशीमा बाढी आएको बहाना र विभिन्न अन्य बहाना बनाएर निर्माण कम्पनीले काम नगर्ने गरेको रौतामाई गाउँपालिका–५ का वडा अध्यक्ष पाण्डव राई बताउँछन् ।

पुल समयमा नबनेकै कारण वर्षेनि हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्खा लागेपछि बैशाख अन्तिममा निकाल्ने गरिएको छ । पुल समयमा नबने कै कारण छैठौं पटक अस्थायी बेलिब्रिजमामात्र ४ करोड भन्दा बढी रकम खर्च भइसकेको छ । यो क्रम विगत ६ वर्षदेखि निरन्तर चलिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);