तेजना पण्डित
काठमाडौं, ३ जेठ । काठमाडौँ उपत्यकामा बढ्दो सवारी चाप वायु प्रदुषणको मुख्य कारण बनिरहेको छ । प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । यो चुनौति सामना गर्न सरकार र यातायात व्यवस्था विभागको पहल भने प्रभावकारी बन्न सकेको छैन ।
यातायात मन्त्रालयको तथ्याङ्कअनुसार देशभरका कुल ३० लाख ८ हजार ९ सवारी साधनमध्ये २३ लाख ७२ हजार ३ सय १६ मोटरसाइकल छन् । बागमती अञ्चलमा मात्र ११ लाख ९ हजार आठ सय १३ सवारी दर्ता भएका छन् ।
यो देशभरका कुल सवारीसाधानका संख्याको करिब ३७ प्रतिशत हो । तर, यी सवारी साधनको उचित सर्भिसिङ र प्रदुशणका मापदण्ड कायम नहुँदा वायुप्रदुषण नियन्त्रण बाहिर पुगेको छ ।
वातावरण विभागले सार्वजनिक गरेको वातावरणको स्थितिपत्रमा वायु प्रदुषणमा सवारी प्रदुषणले ३७ प्रतिशत ओगटेको छ । झन काठमाडौं उपत्यकामा त वायु प्रदूषणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा ५ गुणा बढी छ ।
प्रदुषण बढ्नुमा सवारी साधन मुख्य कारणका रुपमा देखिएको छ भने इटा भट्टा, सिमेन्ट कारखानालगायत पनि कारकका रुपमा देखिन्छन् ।
सवारी प्रदुषणका कारण नाक मुखबाट छिरेको धुवाँ धुलोले प्रत्यक्ष फोक्सोमा असर पार्ने र त्यसबाट ब्रोङ्गकाइटिस, दमदेखि खतरनाक क्यान्सरजस्ता रोगको खतरा हुन्छ । यसका साथै मुटु, दिमाग तथा छालाका रोगलाग्ने चिकित्सकहरु बताउँछन् ।
सवारी प्रदुषण परीक्षण गरी प्रदुषणरहित भएको प्रमाण दिने हरीयो स्टीकर देशका निश्चित भूभागमा मात्र लागु भएको छ । देशभरका गाडीहरु काठमाडौं आउने भएकाले ति गाडीको कारण पनि बाताबरण प्रदुषण बढिरहेको छ ।
त्यसैले यातायात व्यवस्था विभागले आगामी साउनबाट देशभरका प्रत्येक नगरपालीकामा ‘हरियो स्टिकर’ लागूगर्ने तयारी गरेको छ ।
सबै सवारीले प्रदुषण गर्छन् भन्ने मान्यता गलत हो । तर, करिव २० प्रतिशत गाडीले ५० प्रतिशत प्रदुषण गरिरहेका छन् । हरीयो स्टिकरलाई प्रभावकारी बनाउँदै ती गाडीलाई प्रतिस्थापन गर्ने र गुणस्तर कायम गर्ने योजना सरकारले लागु गनुपर्छ ।