प्रतिनिधिसभा नियमावली दलीय सहमतिमै पारित हुन्छ : सभामुख महरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधिसभा नियमावली दलीय सहमतिमै पारित हुन्छ : सभामुख महरा

krishana mahara

काठमाडौं, २ जेठ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली दलीय सहमतिकै आधारमा पारित गर्ने कोशिस भईरहेको बताएका छन् ।

सभामुख महराले दलहरुबीच सहमति जुटाउनकै लागि बुधबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिलाई प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूचिबाट हटाइएको स्पष्ट पारे ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि संघीय संसद भवन परिसरमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सकेसम्म सहमतिमै प्रतिनिधिसभा नियमावली बनाउन कोशिस गर्ने बताए ।

बुधबार विहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ एमालेले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्नुपर्ने अडान र त्यसको विपक्षमा प्रमुख प्रतिपक्ष काँग्रेस उभिएपछि प्रतिनिधिसभा नियमावलीमा विवाद भएको थियो ।

एमाले नेता भानुभक्त ढकालले पनि सहमतिमै अघि बढाउन प्रतिनिधिसभा नियमावलीको मस्यौदा बुधबार कार्यसूचिबाट हटाउने निर्णय गरिएको बताए । उनले नियमावली सहमतिमै अघि बढाउन दलहरुबीच प्रयास हुने स्पष्ट पारे ।

प्रमुख प्रतिपक्ष काँग्रेसले अभियोग पुष्टि भएको फैसला अदालतले नगरेसम्म सांसदहरुलाई निलम्बन गर्न नहुने भन्दै नियमावलीमाथि संशोधन प्रस्ताव दर्ता गराएको छ ।

त्यसैगरी काँग्रेसले विषयगत समितिको संख्या घटाउन पनि माग गरेको छ । मस्यौदा समितिमा १० वटा विषयगत समिति बनाउने प्रस्ताव गरिएकोमा काँगेसले असहमति जनाउँदै यसका पनि संशोधन प्रस्ताव दर्ता गराएको छ ।

दलहरुबीचको विवादका कारण बुधबार पनि नियमावली पारित गर्ने कार्यसूचि हटाउनु परेको संघीय संसद सचिवालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);