संसद्को अधिवेशन शुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

संसद्को अधिवेशन शुरू

samsadh aadibesan suru

काठमाडौं, २४ बैशाख । सघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट शुरू भएको छ। प्रतिनिधिसभा बैठककोे शुरूमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आवानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो। शहीदको सम्झनामा १ मिनेट मौनधारण गरेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो।

सभामुख महराले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी अधिवेशनभरको सम्भावित कार्यसूचीबारे जानकारी गराउनुभएको थियो। उहाँले असार अन्तिम सातासम्मको कार्ययोजना प्रस्तुत गर्नुभएको हो। राष्ट्रिय सभाले पनि असारसम्मको सम्भावित कार्यसूची बनाइसकेको छ। संघीय संसद्को पहिलो बैठक फागुन २१ गतेबाट १ महिनासम्म चलेर फागुन २० गतेबाट अन्त्य भएको थियो। प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका १० वटा बैठक बसेका थिए।

आइतबारको बैठकमा कानुनमन्त्री शेरबहादुर तामाङले सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश–२०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवा, सर्त र सुविधासम्बन्धी अध्यादेश–२०७५ पेस गर्नुभयो। गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुनमन्त्री तामाङले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश–२०७५ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७५ प्रस्तुत गर्नुभयो।

राष्ट्रपतिले पुस १४ गते राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी गर्नुभएको थियो। त्यस्तै प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदा समितिको प्रतिवेदन संसद्मा प्रस्तुत गर्नुभएको थियो।राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा प्रस्तुत भएका ४ वटै अध्यादेश पेश गरिएको थियो।

राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले मस्यौदा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यसअघि मस्यौदा समितिको म्याद थपको प्रस्ताव पेस गरिएको थियो। दुवै सदनले म्याद थपको प्रस्तावलाई समर्थन जनाएका थिए। संघीय संसद्को बैठक बसेको भोलिपल्ट (फागुन २२ गते) १३ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो। राष्ट्रिय सभामा ९ जनाको नियमावली मस्यौदा समिति गठन गरिएको थियो।

समितिले मस्यौदा बनाउन १ महिनाको समय पाएको थियो। समितिले वैशाख ११ गते सभामुखको सहमतिमा म्याद थप गरेको थियो। प्रतिनिधिसभाको बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नेको नाम परिवर्तन गर्ने सभामुख महराको प्रस्तावलाई सदनले सर्वसम्मतरूपले समर्थन जनाएको छ। एमालेका खगराज अधिकारीको ठाउँमा राधा ज्ञवालीको नाम राखिएको छ। अधिकारी एमाले संसदीय दलका प्रमुख सचेतक बन्नुभएको छ।

नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि संशोधन हाल्नका लागि मंगलबार दिउँसो २ बजेसम्मका लागि समय दिइएको छ। प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजे बस्नेछ।

शोक प्रस्ताव पारित
संआइतबारको संसद्को दोस्रो बैठकले एमालेका पूर्वसांसद जागृतप्रसाद भेटवालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। पहिलो बैठक सकिएको १५ मिनेटपछि अर्को बैठक बसेको थियो। चितवनबाट निर्वाचित पूर्वसांसद भेटवालको उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा चैत २१ गते ६५ वर्षको उमेरमा निधन भएको थियो। उहाँ २०५१ सालको संसदीय निर्वाचनमा चितवन–१ बाट निर्वाचित हुनुभएको थियो। आजको नेपाल समाचारपत्रमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);