बारा, २५ बैशाख । सिन्डिकेट खारेजीसँगै तराईका जिल्लामा यातायात व्यवसायीले क्षमताभन्दा बढी भार बोक्न थालेका छन् । तौल गर्नु नपर्ने र सम्बन्धित संघसंस्थाले समेत कार्बाही नगर्ने हल्लाका कारण यात्रुबाहक बस तथा ट्रकले आवश्यकताभन्दा बढी भार बोक्न थालेका हुन् ।
यसरी क्षमता भन्दा बढी भार बोक्ने सवारीलाई बारा सिमराका केही व्यवसायीले नै नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाएका छन् । क्षमता भन्दा तीन हजारदेखि तीन हजार पाँच सय किलो बढी भार बोकी आएका मालबाहक ट्रकलाई सिमरामा रोकेर व्यवसायीहरुले ट्राफिक प्रहरीको जिम्मा लगाएका हुन् ।
व्यवसायीहरुले ट्राफिकको जिम्मा लगाएका सवारी साधनमा ना.६.ख.६९७५, ना.४.ख.८३२५, ना.७.ख.५३९९, ना.३.ख.६७५५, ना.४.ख.४४१६, ना.४.ख.१७०५ र ना.४.ख.८२९६ नम्बरका ट्रक रहेका छन् । मध्यक्षेत्रीय ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कार्बाहीका लागि यातायात व्यवस्था कार्यालय बिरगंजमा बुझाउने बताएको छ ।
सरकारले लागु गरेको भारवहन क्षमता अनुसार ६ चक्केले गाडीसहितको कुल १६ हजार दुई सय किलो, १० चक्केले गाडीसहित कुल भार २५ हजार किलो, १२ चक्केले ३१ हजार किलो र १८ चक्केले गाडीसहित ४० हजार दुई सय किलोमात्रै भारी बोक्न पाउँछन् ।