चितवनमा असिना पानीले करोडौंको केराखेती नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चितवनमा असिना पानीले करोडौंको केराखेती नष्ट

चितवन, २४ वैशाख । चितवनमा हावाहुरी सहितको असिना पानीले करिब २० करोडको केराखेती नष्ट गरेको छ । चितवनमा आइतबार साँझ आएको हावाहुरीसहितको असिनाले १ हजार ९ सय बिगाहामा लगाइएको करिब २० करोड मूल्य बराबरको केराखेती नष्ट गरेको हो ।

पूर्वीचितवनको कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा लगाइएको केरा खेतीमा धेरै क्षती पुगेको छ । पदमपुर क्षेत्रको ९० प्रतिशतभन्दा बढी केरा खेती पूर्णरुपमा नष्ट भएको छ ।

कुनै क्षेत्रमा पुर्ण रुपमा र केही ठाउँमा आंशिक रुपमा क्षती पुगेको चितवन केरा उत्पादक संघका अध्यक्ष बिष्णुहरि पन्तले जानकारी दिए । चितवनमा २ हजार ६ सय ५० बिगाहा क्षेत्रमा केराखेती भइरहेकोमा आइतबार आएको हावाहुरी र असिना पानीले १ हजार ९ सय बिगाहा केराखेतीमा क्षती पुगेको अध्यक्ष पन्तको भनाई छ ।

नष्ट भएको मध्य ३० प्रतिशत केराको मात्रै बिमा रहेको र अन्य ७० प्रतिशत केराखेतीको बिमा नरहेको उनले जानकारी दिए । कालिका नगरपालिका क्षेत्रमा मात्रै ६ सय बिगाहा भन्दा बढी क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

लामो समयदेखि केराखेती गर्दै आएका यज्ञप्रसाद सुवेदीको कालिका ३ पदमपुरमा ५ बिगाहा क्षेत्रमा लगाएको केराखेती हावा र असिनाले पुर्णरुपमा नष्ट भएको छ । पदमपुरसँगै चैनपुर र भरतपुर महानगरपालिकाको ठिमुरा क्षेत्रमा लगाएको केराखेतीमा समेत हावाहुरीले क्षती पुगेको उनले बताए ।

हावाहुरी सहित आएको असिनाले धेरै क्षती भएको किसानहरुले बताएका छन् । हावाले नढलेको केराको बोट असिनाले कामै नलाग्ने बनाएको छ । कालिका नगरपालिका वडा नम्बर ३ पदमपुरका नेत्र शर्माले पदमपुर र पिठुवाँ क्षेत्रमा गरी १४ बिगाह क्षेत्रमा लगाएको केरा पुर्ण रुपमा नष्ट भएको बताए ।

उनले पदमपुरमा ३ बिगाहा क्षेत्रमा लगाए केरा पुर्णरुपमा नष्ट भएको देखाउँदै भने –‘ठुलो बोट त ढल्यो ढल्यो असिनाले सानो बिरुवा समेत बाँकी राखेन सबै काम नलाग्ने भयो ।’

हावाहुरी र असिनाले भएको क्षतीको सोमबार प्रदेश सांसद घनश्याम दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठ लगायत अन्य जनप्रतिनिधीले स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षण पश्चात् प्रदेश सांसद दाहालले यो कालिका नगरपालिकामा परेको महाविपत्ती भन्दै वडा–वडामा क्षतिको तथ्यांक लिन सुरु गरिएको र त्यसलाई जिल्लाबाट पारित गरि मन्त्रालय पठाउने बताए ।

उनले क्षतीपुर्तीको लागि मन्त्रालयमा सकेको पहल गर्ने आश्वासन पनि दिए । हावाहुरी र असिना पानीले केराखेती मात्रै नभई मकैवाली र तरकारी खेती पनि नष्ट गरेको छ । कालिका नगरपालिको पदमपुर क्षेत्रमा लगाइएको मकै र तरकारी असिनाले ध्वस्त पारेको छ ।

यस्तै पूर्वी चितवनका विभिन्न स्थानका घरहरुको छानो समेत उडाएर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हावाहुरीले चितवनमा दुई जनाको मृत्यु हुनुको साथै दुई जना घाईते भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);