जेलिएको सुन तस्करी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जेलिएको सुन तस्करी

gold-baramad

विराटनगर,२२ बैशाख । साढे ३३ किलो सुन तस्करी र एकजनाको हत्या भएको घटना अदालत प्रवेश गरिसक्दा स्पष्ट प्रमाण अभावमा मुद्दाले कस्तो रूप लिने हो भन्ने कौतूहलको विषय बनेको छ । यो प्रकरण सार्वजनिक भएसँगै हालसम्म तीनजनाको ज्यान गइसकेको छ । २९ जना पक्राउ परेका छन् । फरार भनिएका ३४ जनालाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी बुझाएको अभियोगपत्रसहित जिल्ला न्यायाधिवक्ताको कार्यालयले जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दायर गरिसकेको छ । त्यसै आधारमा शुक्रबारसम्म ५ जनाको बयान लिने काम सकिएको छ । वैशाख २५ भित्र बयान सकेर थुनछेकका लागि बहस अघि बढाउने तयारी अदालतको छ । मुख्य प्रमाण मानिएको साढे ३३ किलो सुनकै पत्तो नहुँदा अदालतलाई स्पष्ट प्रमाणको अभाव हुने अवस्था आएको कानुन व्यवसायीले बताएका छन् ।

‘यो मुद्दाका लागि मुख्य दसी–प्रमाणका रूपमा रहनुपर्ने सुन कहाँ छ भन्ने अहिलेसम्म पत्तो छैन,’ मोरङ बार एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र थापाले भने, ‘यसले गर्दा मुद्दा कसरी निष्कर्षमा पुग्छ भन्न सकिने अवस्था छैन ।’ माग दाबीअनुसार मुद्दा निष्कर्षमा पुर्‍याउन राज्यले सहयोग गर्नुपर्ने उनले बताए । नेपाल सरकारले चाहे उक्त सुनबारे दुबई सरकारसँग समन्वय गरी केही सूचना ल्याउन सक्ने सम्भावना रहेको उनको भनाइ छ । ‘त्यत्रो परिमाणको सुन कहाँ किनियो र कसरी त्यहाँबाट बाहिरियो भन्ने जानकारी आउन सके यसबारे धेरै कुरा प्रस्ट हुन सक्छ,’ थापाले भने । नेपाल बार एसोसिएसनका केन्द्रीय सल्लाहकार भरत थापा पनि गायब भनिएको सुन भेटिए अभियोग प्रमाणित गर्न धेरै मद्दत पुग्ने बताउँछन् । यसका लागि राज्यका संयन्त्रले मिहिनेत गर्नुपर्ने उनको सुझाव छ । ‘साढे ३३ किलो सुन तस्करी गरेको अभियोग छ,’ उनले भने, ‘तर, अदालतमा प्रमाणका रूपमा एक लाल सुन पनि छैन ।’

अदालतका अधिकारीहरूले पनि बिनाप्रमाण मुद्दा स्थापित गर्न कठिन हुने प्रतिक्रिया दिएका छन् । ‘बिनाप्रमाण मिसिल र अभियोगपत्र दिइएको छ,’ एक अधिकृतले भने, ‘सुन कहाँ छ, खोजिनुपर्छ, भेटिनुपर्छ अनि मात्र मुद्दा स्थापित गर्न सहज हुन्छ ।’ यसका लागि सरकार र मातहत निकायले अदालतलाई खुलेर सहयोग गर्नुपर्ने उनले बताए । मागदाबी प्रमाणित हुन नसके यस्ता संगठित आपराधिक गतिविधिले प्रश्रय पाउने उल्लेख गर्दै ती अधिकृतले राज्यलाई पनि आर्थिक रूपले ठूलो क्षति हुने भएकाले सबै तहको गम्भीरता आवश्यक भएको जनाए ।

हालसम्मको अनुसन्धान, प्रमाण र अन्य पक्षका आधारमा हत्या अभियोगले प्रमुखता पाउने अनि सुन तस्करीको पाटो ओझेलमा पर्न सक्ने चिन्ता अदालतका अधिकारी एवं कानुन व्यवसायीले व्यक्त गरेका छन् । ६३ जना प्रतिवादी रहेको यो मुद्दाको अभियोगपत्रमा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको बिगो मागदाबी प्रस्तुत गरिएको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);