ङुइलाबाट खुसुखुसु सुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ङुइलाबाट खुसुखुसु सुन

sun gold

काठमाडौं, १२ साउन । तातोपानी र रसुवा नाकामा कडाइपछि सुन तस्कर गोरखाको ङुइला नाकातिर मोडिएका छन् । तिब्बतको जोङ्गा बजारमा सामान किन्न जाने नेपालीलाई तस्करले आर्थिक प्रलोभनमा सुन बोकाएर पठाउने गरेका छन् । यो रूटमा सुरक्षा उपस्थिति निकै फितलो छ । भएकै लार्के भन्सार कार्यालय पनि डेढ दशकदेखि निष्क्रिय छ ।

धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद गर्‍यो । बस्तीबाट करिब हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो ।

प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ । प्रहरीले शुक्रबार उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । ‘यसको अनुसन्धान अब विभागले नै गर्छ,’ एसपी ओम अधिकारीले भने ।
धनकमलको होटल छ । उनी उत्तरी गोरखामा आरूघाट, सोती, माछाखोला बजारबाट खच्चडमा राखेर दैनिक उपभोग्य सामग्री ढुवानी गर्थे । त्यसैले मनास्लु पदमार्गका हरेक रूटबारे जानकार छन् । सुन मालिकले उनैलाई सुन ओसार्न प्रयोग गर्नुको कारण पनि यही हो । धनकमल असार ११ राति नै सुन माछाखोला कटाउने प्रयासमा थिए । यसको सुइँको पाएका केही युवा उनलाई लुट्न बाटो ढुकेर बसे । धनकमलले पहिल्यै थाहा पाइहाले ।

‘खच्चडको भारी फुकाएर उनी राति नै बेपत्ता भए, आक्रमणको योजना बनाउनेले पनि उनलाई भेट्न सकेनन्,’ एक स्थानीयले भने, ‘सुन लुकाएर उनले अपहरणमा परेको नाटक गरेछन् ।’ यही क्रममा धनकमल बेपत्ता भएको भन्दै परिवारले प्रहरीमा जाहेरी दियो । तर केही दिनमै सम्पर्कमा आएको भन्दै उनीहरूले जाहेरी फिर्ता लिएका थिए । धनकमलले अवैध सुन ल्याएको आशंका प्रहरीलाई भइसकेको थियो । त्यसैले उनको खोजी जारी राख्यो । करिब २९ दिनपछि उनी फेला परे । ‘धनकमल भेटिएपछि सुन भएको स्थान आफैंले देखाए,’ एसपी अधिकारीले भने ।

यो घटनासँगै चुमनुब्री–७ को ङुइला नाकालाई सुन तस्करले नयाँ रूट बनाएको खुलेको छ । रसुवागढी र तातोपानी नाकामा कडाइपछि उनीहरू यता मोडिएका हुन सक्छन् । ङुइलामा सुरक्षा व्यवस्था फितलो छ । यो विकट भूगोलमा सुरक्षाकर्मी सीमित छन् । ‘अब त्यो नाकामा निगरानी बढाउँछौं,’ अधिकारीले भने, ‘प्रहरी परिचालन गरेर तस्करी रोकेरै छाड्छौं ।’ उत्तरी क्षेत्रमा प्रहरी उपस्थिति न्यून छ । छेकम्पार, सामागाउँ, सिर्दिबासको फिलिम, जगतमा मात्र प्रहरी बस्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);