संगठित सुन तस्करी: समातिन्छन्, छुट्छन् र फेरि तस्करी गर्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संगठित सुन तस्करी: समातिन्छन्, छुट्छन् र फेरि तस्करी गर्छन्

gold-baramad

काठमाडौं, २६ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विशेष सुराकीका आधारमा २०७० असार २६ गते कोटेश्वरबाट ३५ केजी सुन बरामद गर्‍यो । सीमावर्ती चीनबाट सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै काठमाडौं भित्रिएको कन्टेनरमा फल्स बटमभित्र लुकाएर ल्याइएको सुन गाडीधनी ओमबहादुर बज्राचार्य, घ्याम्जो लामा, र मोहनकुमार अग्रवालको भएको बयान गाडी चालक निमा छिरिङले दिए ।

पाँच वर्षअघि संगठित सुन तस्करीमा मुछिएका अग्रवाल तिनै व्यक्ति हुन्, जो सनम शाक्यको हत्या र लुटिएको ३३ केजी सुनमाथि भइरहेको पछिल्लो अनुसन्धानमा फरार अभियुक्तका रूपमा छन् ।

बरामद भएको ३५ केजी सुनमाथि राजस्व अनुसन्धान विभागको छानबिनपछि उक्त मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भयो । न्यायाधीश ऋषिकेश वाग्लेको इजलासबाट २०७३ चैत १६ मा मोहन अग्रवालले सफाइ पाए । अदालती फैसलामा ‘अग्रवाललाई पोल लगाउने चालक निमा छिरिङको सुनका सम्बन्धमा मोहन अग्रवालसँग के कुन व्यहोराबाट सम्पर्क स्थापित भएको हो भन्ने ब्यहोरा नखुलेको’ उल्लेख छ । साथै चालक छिरिङले केरुङको नागा भोटेबाट सुन ल्याएको बयान दिए पनि अग्रवालले कसरी सुनको रकम भुक्तानी गरेको भन्ने ब्यहोरा मिसिलबाट नखुलेको भन्दै उनलाई सफाइ दिइएको थियो ।

यसरी अदालतबाट सफाइ पाएका अग्रवाल त्यसपछिका वर्षहरूमा के काममा सक्रिय थिए र उनी कसरी पछिल्लो संगठित सुन तस्करीको धन्दामा मुछिए ? यो प्रश्नको उत्तरले संगठित सुन तस्करीमा कसरी वर्षौंदेखि विद्यमान कानुनी छिद्र, कमजोर अनुसन्धान प्रणाली र मिलेमतोमा आधारित विधि र संरचनाको आडमा संगठित सुन तस्करीको अभ्यास भइरहेको छ भन्ने बुझाउँछ ।

वर्षौंदेखि संगठित सुन तस्करीको अभ्यासमा केही व्यक्तिको अचम्मलाग्दो निरन्तरता देखिन्छ । अग्रवाल त त्यसका प्रतिनिधि पात्रमात्रै हुन् । संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न बनेको विशेष समितिले मोरङ जिल्ला अदालतमा बुझाएको अभियोग पत्रमा गोरे भनिने चूणामणि उप्रेती लगायतका व्यक्तिहरूको सञ्जालले २०६९ सालदेखि अवैध सुन तस्करीको धन्दा चलाइरहेको तथ्य उल्लेख गरेको छ । यो तथ्यबाट संगठित सुन तस्करीको शृङखलाबद्ध अभ्यास कसरी वर्षौंदेखि निर्वाध चलिरहेको थियो भन्ने बुझाउँछ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);