काठमाडौं, १२ साउन । धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब बढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।
राष्ट्रिय वाणिज्य बैंकमा २४ हजार मासिक तलब पाइरहेको जागिर छाडेर उनी कपिलवस्तुको सीमावर्ती भारतीय बजार पचपेडवा पुगे । त्यहाँको एक कम्पनीमा केही दिन काम गरे । एजेन्टले भनेअनुसारको तलब पाएनन् । आस नमरेका कारण काम गरिरहे । जब कम्पनीमा प्रहरीले छापा मार्यो, उनी छाँगाबाट खसेझैं भए ।
कम्पनीका प्रमुख व्यक्ति पक्राउ परेपछि मात्रै मगरले आफू ठगिएको थाहा पाए । तीन महिनादेखि उनी तनावमा छन् । चिन्ताले घर जान सकिरहेका छैनन् । ‘के मुख लगाएर जाने,’ उनले भने, ‘भएको जागिर पनि छैन । समस्यामा छु ।’ अहिले उनी कृष्णनगरमा डेरा लिएर बसिरहेका छन् । उनीजस्तै सुर्खेतकी नन्दा परियार अलपत्र छिन् ।
उनलाई पनि मासिक ४० हजारभन्दा बढी कमाइ हुने प्रलोभन दिइएको थियो । ‘धेरै नै कन्भिन्स गरिएको थियो,’ उनले भनिन्, ‘परिवारको भलो हुन्छ ठानेँ, अहिले सम्पत्ति गुमाएँ ।’ गहना बेचेर ४ लाख र सरसापट गरेर ७ लाख रुपैयाँ नेटवर्किङ कम्पनीलाई बुझाएको उनले बताइन् । कम्पनीमा गएर काम पनि गरिन् । ‘काममा त्यत्ति चित्त बुझिरहेको थिएन,’ उनले भनिन्, ‘जब सञ्चालक पक्राउ परेको थाहा पाएँ, मेरो होस उड्यो ।’ उनले थपिन्, ‘घरमा के भनेर जवाफ दिने ?’ न्यायका लागि उनी इप्रका कृष्णनगर धाइरहेकी छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।