सहमति उन्मुख ओली–दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सहमति उन्मुख ओली–दाहाल

oli-prachanda

काठमाडौं, २१ बैशाख । पार्टी एकतामा देखिएका गतिरोध अन्त्य गर्दै एमाले–माओवादी पार्टी एकताको अन्तिम चरणमा पुगेका छन्। एमाले–माओवादी शीर्ष नेतृत्वबीच एकीकृत पार्टीको संगठनात्मक हिस्सेदारी, चुनाव चिह्न, माओवादी जनयुद्धको स्वीकारोक्तिलगायत विषयमा सहमति जुट्न नसक्दा एकता अन्यौलमा पुगेको थियो।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार बिहान र मध्याह्न दुईपटकसम्म भएको छलफल सहमतिउन्मुख भएका कारण एकता प्रक्रिया निष्कर्षतिर पुग्न थालेको नेताहरूले बताएका छन्। यी दुई नेता ४ वैशाखयता एक्लाएक्लै वार्तामा बस्दै आइरहेका छन्। बिहीबार पनि पार्टी एकतालाई ‘वारपार’ लगाउने उद्देश्यले सघन वार्तामा बसेका थिए।

बिहीबारको छलफलमा संगठनात्मक हिस्सेदारी कसरी मिलाउने र कार्यदल प्रतिवेदनका आधारमा एकीकृत पार्टीको केन्द्रीय समितिको आकार कस्तो बनाउने भन्नेमै छलफल केन्द्रित रहेको स्रोतको भनाइ छ। छलफलमा पार्टी एकता संयोजन समितिले बनाएको अन्तरिम विधान कार्यदलले दिएको प्रतिवेदनभन्दा केही संख्या बढाएर एकीकृत पार्टीको केन्द्रीय समिति बनाउने कुरामा दुई अध्यक्षबीच समझदारी भएको छ।

एमालेको अहिलेका केन्द्रीय समितिका सबै सदस्यलाई समेटने र माओवादीका झण्डै बराबरी संख्याका नेतालाई पनि समेट्दा केन्द्रीय समितिको आकार बढ्ने भएपछि दुई नेताहरू कार्यदल प्रतिवेदनको सुझावभन्दा बढाएर केन्द्रीय समिति बनाउने समझदारीनिकट पुगेका छन्। कार्यदलले दुई सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्तावसहितको प्रतिवेदन एकता संयोजन समितिमा बुझाएको थियो। आकार बढ्ने भएपछि केन्द्रीय समिति तीन सय ५१ देखि तीन सय ९९ को बीचमा रहनेछ।

‘तीन सय ५१ देखि तीन सय ९९ सदस्यीयसम्मको एकीकृत पार्टीको केन्द्रीय समिति बन्ने गरी छलफल छ’, माओवादी केन्द्रका एक वरिष्ठ नेताले अन्नपूर्णसँग भने, ‘तीन सय ५१, तीन सय ७५ र तीन सय ९९ सदस्यीयमध्ये कुन आकारको बनाउने भन्ने तीन विकल्पमा छलफल भइरहेको छ।’

एमालेका दुई सय र माओवादीका एक सय ७५ सदस्यीय कमिटी बनाउने गरी दुई अध्यक्षबीच छलफल बढीकेन्द्रित छ। एमालेका दुई सय ६ केन्द्रीय समिति सदस्यमध्ये छाडेका, लाभको पदमा पुगेका कारण केही पद रिक्त छ। ‘संख्या बराबरी नै हुने भन्ने त हुदैन, १०–२० सिट माओवादीका तर्फबाट भन्दा एमालेका बढी हुन्छन्, त्यसो हुदा दुई सय एमाले हुँदा एक सय ७५ सम्म माओवादीका हुन सक्छन्’, माओवादीका ती नेताले भने।

दाहाल–ओलीबीच जिल्ला तथा प्रदेश तहका पार्टी कमिटीमा भने प्रभाव क्षेत्रका आधारमा समायोजन गरिने विषयमा पनि करिब करिब समझदारी बनेको छ। पार्टी एकताको विवादित अन्य विषयमा पनि नेताहरूले दुवै पक्षलाई मान्ने गरी समझदारी गर्ने गरी छलफल अघि बढाएका छन्। माओवादी जनयुद्धलाई अन्तरिम राजनीतिक प्रतिवेदनमा झैं विधानको प्रस्तावनामै समेट्ने, चुनाव चिह्नका सवालमा एमालेको सूर्य चिह्नलाई नै एकीकृत पार्टीको चुनाव चिह्न बनाउने विषयमा पनि नेताहरू सहमति नजिक छन्।

बिहीबारको छलफल सकारात्मक देखिएकोले पुनः एकचरण छलफल गरी पार्टी एकता संयोजन समिति बैठक बोलाएर एकता मिति घोषणा गरिने पक्षमा दाहाल–ओली देखिएका छन्। प्रधानमन्त्री ओलीको शुक्रबार चितवन र धनगढी जाने कार्यक्रम रहे पनि दाहालसँगको बिहीबारको छलफल सकारात्मक बनेपछि धनगढी कार्यक्रम ओलीले स्थगित गरेका छन्। चितवनबाट ओली फर्केपछि दुई नेता थप छलफलमा बस्नेछन्।

‘समयमै प्रधानमन्त्री काठमाडौं आउनुभयो भने भेटघाट हुन्छ’, दाहालको निजी सचिवालयले भन्यो, ‘थप छलफलले एउटा निष्कर्ष निकाल्छ।’ ‘अझै पनि दुई अध्यक्षको छलफलमा एकले अर्को पक्षलाई कतिसम्म गलाउन सकिन्छ भन्नेतिरै केन्द्रित छ, तर एकताबाट टाढा दुवै अध्यक्ष छैनन्, छलफल सकारात्मक हुँदै गएको छ’, एमालेका एक नेताले भने। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिजालले पनि छलफल सकारात्मक भएको प्रतिक्रिया दिए। तर, उनले दुई अध्यक्षबीच मात्रै कुराकानी भएको र कुराकानी दुवै अध्यक्षले बाहिर ल्याइनसकेकाले यसै भएको भन्न नसकिने जनाए।

‘निरन्तर छलफल भइरहेको छ। छलफल सौहार्दपूर्ण रूपमा भएको छ, रिमालले अन्नपूर्णसँग भने, ‘तर छलफलमा यही भयो भन्ने अवस्था छैन, उहाँहरू दुई जनामात्र छलफलमा हुनुभएकोले जानकारी पनि हामीलाई दिई नसक्नुभएकोले भन्न सक्ने कुरा भएन।’ओलीसँगको छलफलपछि दाहाल एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालसँगको परामर्शमा थिए। एकता महाधिवशेनमा दाहाल–नेपाल दुवै अध्यक्षका प्रत्याशी देखिएका कारण पनि एकतामा दाहालले सुरक्षित अध्यक्षको ग्यारेन्टी अहिले खोजेको बताइँदै आएको छ।

माओवादीले उठाउँदै आएको समानता र न्यायोचित एकताको विषयमा एमालेभित्रका नेताकै बीचमा पनि समान धारणा नरहेको र यस विषयमा ओली नरम र नेता नेपाल पक्ष गरम रहेको बुझाइमा माओवादी छ। माओवादीको ९ वैशाखमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले एमालेभित्र ओलीसँग मात्र नभई नेपालसँग पनि सम्बन्ध बढाएर एकताका विषयमा छलफल गरेर जानुपर्ने धारणा उठेपछि दाहालले दुवै नेतासँग छलफल बढाएका हुन्। तर, एकीकृत पार्टीको एकता महाधिवशेनमा पार्टी अध्यक्षको रुचि नेपालले पनि देखाएपछि भने दाहाल–नेपालबीच संवाद पातलिएको थियो।

बिहीबारको छलफलमा दुई नेताबीच पार्टी एकता केन्द्रित छलफल भएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। माओवादी नेता अग्नि सापकोटाले छलफल सकारात्मक नै रहेकोले अब एकताका लागि आवश्यक मिलाउनुपर्ने प्राविधिक विषयमा दुवै अध्यक्ष कसरी जान सकिन्छ भन्ने गम्भीर बहसमा रहेको बताए। ‘अध्यक्षका बिफ्रिङ र भएका छलफल बुझ्दा सकारात्मक नै सुनिन्छ, तर दुई अध्यक्षबीच मात्र छलफल भइरहेकोले यथेष्ट जानकारी हुन सकेको छैन।’ नेता सापकोटाले भने। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);