मनमोहन अधिकारी नेपाली राजनीतिमा 'निष्ठा र इमानका प्रतीक' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

मनमोहन अधिकारी नेपाली राजनीतिमा ‘निष्ठा र इमानका प्रतीक’

तेजना पण्डित
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा केही नेतालाई जनताले श्रद्धाभावले स्मरण गर्ने गर्दछन् । तीमध्ये नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी पनि पर्छन् । आफ्ना निहीत स्वार्थबाट माथि उठेर निर्णय गर्ने अधिकारी नेपाली राजनीतिमा निष्ठा र इमानका प्रतीकका रुपमा परिचित छन् ।

२०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुँदा मनमोहन अधिकारीले गरेका कामले आज पनि उनी नेपालीका लागि चिर स्मरणीय छन् । अधिकारीले आफू प्रधानमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने कार्यक्रम ल्याएका थिए ।

तत्कालीन समयमा हरेक गाविसमा तीन-तीन लाख रुपैयाँ पठाए । जसले विकासका लागि सदरमुकाम अनि सिंहदरबार नै धाउनुपर्ने बाध्यता तोडियो । नागरिकले आफ्नो गाउँको विकासका लागि आफैले खर्च गर्न पाउने भएपछि विकासको लहर नै आयो ।

जुन कार्यक्रम अहिले पनि चलिरहेको छ । दक्षिण एसियामै पहिलो प्रयोगका रुपमा अधिकारीले नै वृद्धभत्ताको व्यवस्था मिलाएका थिए । प्रधानमन्त्रीको ९ महिने कार्यकालमा अधिकारीले पारदर्शिता, मितव्ययिताको निकै हेक्का राखे ।

उनले आफ्नो व्यक्तिगत खर्चसमेत कटाएर राज्य कोषमा रकम फिर्ता गरेको कुरा नेपालीले बिर्सेका छैनन् । अल्पमतको ९ महिने सरकारको नेतृत्व गरेर पनि उनले नागरिकको मन जितेका थिए ।

जसलाई इतिहासकै प्रभावकारी मन्त्रीपरिषद्का रुपमा समेत लिने गरिन्छ । त्यही मन्त्रिपरिषदमा गृहमन्त्री रहेका केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । मनमोहन नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका नेता भरतमोहन अधिकारी अहिलेको सरकार झन् सहज अवस्थामा रहेकाले जनताका लागि धेरै काम गर्न सक्ने बताउँछन् ।

राष्ट्रियताका सवालमा पनि मनमोहन दृढ र साहसी थिए । प्रधानमन्त्री हुँदा उनले भारतसँग सन् १९५० को सन्धि पुनरावलोकनका लागि प्रस्ताव गरेका थिए । उनीपछि कुनै पनि प्रधानमन्त्रीले उक्त सन्धिबारे भारतसँग ठाडो शीर लगाएर बोल्ने हिम्मत गर्न सकेका छैनन् ।

रक्षामन्त्रीसमेत रहेका एमाले महासचिव इश्वर पोखरेल मनमोहनले नेपाली राजनीतिमा छाडेको निष्ठा र इमान अनुकरणयोग्य रहको बताउँछन् ।

नेतालाई आडम्बर, घमण्ड र शक्तिले भन्दा बढी इमान र सदाचारिता र निष्ठाको राजनीतिले लोकप्रिय बनाउँछ भन्ने कुरा नेपाली राजनीज्ञले मनमोहनबाट सिक्न सक्ने विश्लेषकहरु बताउँछन् ।

अल्पमतमा परेका बेला मनमोहनले गरेका निर्णय र ल्याएका योजनाले आज पनि नेपाली जनता लाभान्वित छन् । अहिले एमालेकै नेतृत्वमा, त्यो पनि संसदको तीन चौथाइ समर्थन प्राप्त सरकार छ । यसले मनमोहन अधिकारीको जस्तो जस पाउने काम गर्छ कि गर्दैन, त्यो भविष्यमा देखिने नै छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);