काठमाडौं, १३ बैशाख । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रमकामा सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।
अर्थमन्त्री डा. खतिवडाले अब छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु गर्ने घोषणा गरे । उनले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानून, कार्यविधि र निर्देशिका निर्माणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे । अर्थमन्त्री डा. खतिवडाले विद्युतीय प्रणालीबाट सुरु गरिएको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशनसमेत दिए ।
आगामी आर्थिक वर्षभित्र देशभर यो सेवालाई विस्तार गर्ने योजना बनाइएको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए । अर्थसचिव ढुंगानाले यो प्रणालीले व्यवसायको लागत घटाउने भन्दै नेपालको कर प्रणालीमा निकै ठूलो सुधार भएको दाबी गरे ।