भूकम्पपछिका तीन वर्ष एक लाख १९ हजार घर तयार | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

भूकम्पपछिका तीन वर्ष एक लाख १९ हजार घर तयार

gaddi baithak

काठमाडौं, १२ बैशाख । भूकम्पपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि तीन वर्षमा एक खर्ब १५ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क, चीन, युरोपियन युनियन, विश्व बैङ्क, भारत, अमेरिका लगायतका दातृ निकायको सहयोगमा पुनःस्थापना तथा पुनःनिर्माणका लागि पैसा खर्च गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले तेस्रो भूकम्प स्मृति दिवस पारेर मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म एक लाख १९ हजार १८२ घरको निर्माण सम्पन्न भइसकेको छ । भूकम्पमा प्रभावित ३१ जिल्लाका सात लाख ६७ हजार ७०५ लाभग्राही घर निर्माणका लागि छनोट भएका थिए ।

हनुमान ढोका दरबारस्थित गद्दी बैठकको पुनःनिर्माण गरिँदै ।
प्राधिकरणले करिब चार लाख ३० हजार ८९ लाभग्रहीले भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेको जानकारी दिएको छ । घर निर्माण गरिरहेका दुई लाख १८ हजार ४३४ लाभग्राहीले आगामी वर्षभित्र घर निर्माण गरिसक्ने प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक युवराज भुसालले बताउनुभयो । काठमाडौँ उपत्यकाका तीन जिल्लाका करिब एक लाख लाभग्राहीमध्ये निकै थोरैले मात्र निजी घर बनाएको प्राधिकरणले जानकारी दिएको छ । सहरी क्षेत्रमा घर निर्माणको लागत अत्यन्तै बढी भएको र सरकारले दिने सहुलियत र निब्र्याजी ऋण सहज तरिकाले उपलब्ध नहुँदा प्रगति कम छ ।
करिब आधा विद्यालय पुनःनिर्माण
भूकम्पले क्षति पुर्याएका सात हजार ५५३ विद्यालयमध्ये करिब आधा विद्यालयको भवन तीन वर्षमा बनिसकेको प्राधिकरणले जनाएको छ । तीन हजार पाँच सय विद्यालय पुनःनिर्माण भइसकेका छन् भने एक हजार ६९२ निर्माणाधीन अवस्था छन् । विद्यालय पुनःनिर्माणका लागि प्रतिवद्धता व्यक्त गरेका छिमेकी मुलुक र दातृ निकायले थप सक्रियता देखाए आगामी वर्षसम्ममा सबै विद्यालय पुनःनिर्माणको प्रक्रियामा गइसक्ने भुसालले जानकारी दिनुभयो ।
बस्ती स्थानान्तरणमा समस्या
भूकम्पका कारण जोखिममा परेका २८० बस्तीको स्थानान्तरणमा भने प्रगति न्यून रहेको छ । बस्तीलाई कुन स्थानमा स्थानान्तरण गर्ने भन्ने यकिन गर्न नसक्दा त्यस्ता बस्तीका तीन हजार ७९४ लाभग्राहीले घर बनाउन सकेका छैनन् । प्राधिकरणले जोखिमयुक्त बस्तीका बासिन्दालाई नजिकैको गाउँ वा जिल्लामा भए पनि जग्गा खरिद गर्नका लागि दुई लाख रुपियाँ थप उपलब्ध गराउने प्रयास गर्दै आए पनि त्यस्तो सुविधा ३८८ जनाले मात्र लिएका छन् ।
सरकारी भवन नै सुस्त
भूकम्पले भत्काएका ३७९ सरकारी भवनमध्ये हालसम्म छवटा मात्र निर्माण सम्पन्न भएका छन् । १२० वटा भवनको पुनःनिर्माण प्रक्रिया थालिएको प्राधिकरणले जानकारी दिएको छ । एक हजार १९७ स्वास्थ्य संस्था क्षति भएकामा हाल ९४ वटा संस्था पुनःनिर्माण भइरहेका छन् । ३३१ वटाको मर्मत तथा प्रबलीकरण गरिएको छ भने ५८६ वटाको पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्याङ्क छ ।
सम्पदामा चुनौती
संस्कृति सम्पदा पुनःनिर्माणमा सबैभन्दा ठूलो चुनौती देखिएको प्राधिकरणका सीईओ भुसालले बताउनुभयो । पुरानै स्वरूप र पहिलेको जस्तै निर्माण सामग्री र प्रविधि प्रयोग गरेर बनाउनुपर्ने भएपछि सम्पदा पुनःनिर्माण निकै विवादितसमेत बन्दै आएको छ । सम्पदा पुनःनिर्माणमा हतार गर्नु हुँदैन भन्ने मानसिकतामा पुरातत्व विभाग छ । भूकम्पले क्षति पु¥याएका ७५३ सम्पदामध्ये एक सय वटाको पुनःनिर्माण भइसकेको छ भने ३२९ सम्पदा पुनःनिर्माण प्रक्रियामा छन् । विश्व सम्पदा सूचीमा नै परेका काठमाडौँ, ललितपुर, भक्तपुर दरबार स्क्वायर क्षेत्रका सम्पदा पुनःनिर्माणमा चीन, जापान, जर्मनी, श्रीलङ्का र अमेरिकाले सहयोग गर्दै आएका छन् । ती सम्पदाको पुनःनिर्माणको काम अगाडि बढिरहेको छ भने उपत्यकाबाहिर नुवाकोट, गोरखा, दोलखामा रहेका सम्पदा पुनःनिर्माणमा खास प्रगति भएको छैन ।
नेपाल सरकार वा महानगरपालिकाका आफ्नै स्रोतबाट बनाउने भनिएका काष्ठमण्डप, रानीपोखरी, धरहराको पुनःनिर्माणले पनि विवादका कारण गति लिएको छैन ।
पाँचवर्षे प्रतिबद्धता
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले अबको दुई वर्षभित्र भूकम्पबाट क्षतिग्रस्त सम्पूर्ण पुनःनिर्माणको कार्य पूरा हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले प्राधिकरण स्थापना भएको पाँच वर्षभित्र पुनःनिर्माणको सम्पूर्ण कार्य सकिने बताउँदै प्राधिकरणले त्यस अनुसारको तयारी गरिरहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा पुनःनिर्माणले थप गति लिने बताउँदै उहाँले अहिलेसम्म पचास प्रतिशत पुनःनिर्माणको कार्य सम्पन्न भएको दाबी गर्नुभयो ।
४५ हजार परकम्प
गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको तीन वर्षभित्र अहिलेसम्म सानाठूला गरी ४५ हजार परकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले तीन वर्षअघि मुलुकमा भूकम्प गएदेखि अहिलेसम्म सानाठूला गरी भूकम्पका ४५ हजार परकम्प गएको जानकारी दिनुभयो । अधिकारीका अनुसार तीमध्ये ४९१ परकम्प चार रेक्टर स्केलभन्दा ठूला छन् । नेपालमा दुई रेक्टर स्केलभन्दा कमका परकम्प मापन गर्ने यन्त्र नरहेको केन्द्रले जनाएको छ । २०७२ वैशाख १२ भन्दा अगाडि मुलुकमा जाने गरेको परकम्पको तुलनामा अहिले पाँच गुणा वृद्धि भएको बताउँदै उहाँले २०७२ वैशाख १२ यता दैनिक करिब तीसभन्दा बढी परकम्प जाने गरेको जानकारी दिनुभयो । आजको गोरखापत्रमा खवर छ ।