काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको बताएका छन् ।
आफूले समृद्ध नेपाल, सुखी नेपाली अभियान प्रभावकारी बनाउन एकपछि अर्को अभियान संचालन गर्ने योजना बनाइरहेको ओलीको भनाइ छ ।
आज काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उदघाटन गर्दैै प्रधानमन्त्री ओलीले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने बताए ।
कार्यक्रममा एमाले नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
कडा निगरानीका साथ सडक निर्माणको कामलाई तीव्रता दिन नेता नेपालले ओलीको ध्यानाकर्षण गराएका छन् । नेता नेपालले समृद्धिको अभियानमा सरकारलाई सबैले साथ दिनुपर्नेमा जोड दिए ।