काठमाडौँ, १० बैशाख । कार्यक्रमपिच्छे सेलेब्रिटीहरू नयाँ नयाँ पहिरनमा देखिन्छन् । कहिलेकाहीँ एकै दिनका फरक समारोहमा समेत फरक गेटअपमा पुगिरहेका हुन्छन् । एउटै लुगामा ‘स्पट’ हुनुभन्दा फरक लुक्सले दर्शकको ध्यान खिच्छ भन्ने मानसिकता हुन्छ ।
हुन पनि सेलेब्रिटीको हरेक शैली आममान्छेका लागि चासोको विषय बन्छ । कसले कहाँ के लगायो, कसरी पहिरन सम्हाल्यो भन्ने कुरा रुचिकर मानिन्छ । लुगाको विषयमा यत्रो चासो हुने भए पनि केही सेलेब्रिटी विभिन्न कार्यक्रममा एउटै आउटफिटमा देखिन्छन् । तिनले पहिरन दोहोर्याउँदा देश दुनियाँमा गजबकै गसिप बन्छ । यो जान्दाजान्दै पनि अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामादेखि बेलायती अधिराजकुमारी केट मिडलटनसमेत लुगा दोहोर्याएर लगाइदिन्छन् । कलाकार हेलेन मिरेन, टिफानी हयाडिस, अभिनेत्री काइरा नाइटली, किम कार्दसियन र गायक हयारी स्टायल्स पनि पहिरन दोहोर्याउने सेलेब्रिटी हुन् ।
आफ्नो पहिरन आकर्षणको विषय हुन्छ भनेर केट मिडलटनलाई थाहा नहुने विषय होइन । तर, उनी कत्ति नलजाईकन लुगा दोहोर्याउँछिन् । सन् २०११ मा ‘वार हर्स’ फिल्मको प्रिमियरमा उक्त गाउन पहिलो पटक लगाएकी थिइन् । त्यसयता सेन्ट एन्ड्रिउज युनिभर्सिटीको डिनर पार्टी र एउटा थ्रीडी मुभी हेर्न जाँदा पनि उनी त्यही गाउनमा थिइन् । मिसेल ओबामा चाहिँ कति बाठी छिन् भने एउटै लुगालाई अलग तरिकाले लगाइदिन्छिन् । उनको फेसन सेन्स तगडा छ ।
बलिउडतिर पनि पहिरन दोहोर्याउने सेलेब्रिटी छन् । तिनमा शाहरूख खान, दीपिका पादुकोण, सिद्धार्थ मल्होत्रा, आलिया भट्ट, कंगना रनावत लगायत पर्छन् । शाहरूखको केमोफ्ल्याग प्यान्ट त चर्चितै छ । आफ्नो बर्थ डे पार्टीदेखि चुनावमा भोट हाल्न जाँदासम्म उनी त्यही प्यान्टमा थिए । भारतीय अनलाइन साइटहरूले शाहरूखको लवाइ देखिने गरी कोणकोणबाट फोटो खिचेर पहिरन दोहोर्याएको कुरालाई सनसनीपूर्ण बनाएका थिए ।
डीएनए अनलाइनमा भने लुगा दोहोर्याउनु राम्रो बानी भएको समाचार प्रकाशित छ । फेसन डिजाइनर साक्षा एन्ड किन्नीलाई उद्ध्रृत गर्दै वेबसाइटमा भनिएको छ, ‘दराजभरि लुगा थुपार्नुभन्दा भएकै लुगा दोहोर्याएर लगाउनु ठीक हो । थोरै किन्ने बानी बसाल्दा हामी वातावरणमैत्री बन्छौं । लुगा कसरी रिसाइकल गर्नुपर्छ भन्नेबारे केट मिडलटनबाट सिक्न सकिन्छ ।’ सेलेब्रिटीले लुगा दोहोर्याएको कुरालाई गसिप बनाउनुभन्दा त्यसलाई पाठका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ । कान्तिपुरबाट